काठमाडौँ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री प्रचण्डले जेनेभा जानबाट रोकेपछिको अवस्थाका बारेमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको छ ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने बैठकमा परराष्ट्रमन्त्रीलाई जेनेभा जानबाट रोक लगाएपछि कसरी अघि बढ्ने भन्ने बारेमा छलफल हुने एक नेताले बताए ।
मन्त्री पौड्याल हिजो साँझ जेनेभा जाने कार्यक्रम भए पनि अन्तिम समयमा प्रधानमन्त्री प्रचण्डले मुख्य सचिवमार्फत नजान भन्नु भएको थियो ।
पूर्व कानुन मन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता गोविन्द बन्दीले जेनेभामा नेपाल सरकारको प्रतिनिधित्व गर्ने समाचार आइरहेका छन् ।
एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले विकसित राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनलगायत विषयमा बैठकमा छलफल हुने बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९, ०९:०७