ज्ञानेन्द्र निरौला, रेडियो साथी, काकरभिट्टा, झापा
झापा । श्रम ऐन २०७४ अनुसार सुविधा पाउने भएपछि चिया मजदुर पनि खुशी भएका थिए । तर ऐन लागु भएकै वर्ष झापाका चिया मजदुरले ऐनले नै व्यवस्था गरेको दशैं खर्च नपाएको गुनासो गरेका छन् । नेपाल चिया विकास निगम अन्तरगतको टोक्ला चिया बगानका मजदुर अगुवा तिलक दर्जीले दशैं राम्रोसँग मनाउन नपाएको दुखेसो पोख्नुभयो ।
झापाका चिया उद्योगीहरुले नयाँ ऐन अनुसार नै मजदुरलाई दैनिक ज्याला उपलब्ध गराउने र एक महिना बराबरको रकम चाड पर्व खर्चका लागि दिने लिखित सहमती गरे । नेपाल चिया विकास निगम अन्तरगतका चिया मजदुरले भने यो बर्षको दशैं खर्च पाएनन् । अर्का मजदुर अगुवा मिलन राईले भन्नुभयो, ‘हामीलाई कारवाही गर्दा श्रम ऐन दफा, उपदफा उल्लेख गरिन्छ तर सहमति अनुसारको काम नगर्दा उहाँहरुलाईचाहिँ कारवाही हुन्छ कि हुँदैन ? ’
कानून बमोजिम पाउनुपर्ने दशैं खर्च नपाएपछि झापाका चिया मजदुरले राम्ररी दशैं मनाउन पाएनन् । श्रम ऐनमा भएको व्यवस्था अनुसार दैनिक तीनसय ८५ रुपैयाँ पाउनुपर्ने भए पनि अहिलेसम्म पुरानै ज्याला दुईसय ७८ मात्रै उनीहरुलाई दिने गरिएको छ । टोक्ला चिया बगानका मजदुर रेणुका फूँयालले गुनासो गर्नुभयो, ‘ दशैं खर्चपनि यसपाली हामीले पाएनौं । बढेको ज्यालापनि हाम्रो लागु भएको छैन ।
पटक पटक सरकार र चिया उद्योगीबीच वार्ता हुने र सहमती हुने गरे पनि चिया कारखाना र बगानमा काम गर्ने मजदुरहरुको समस्या भने बर्षौदेखी जस्ताको त्यस्तै छ । मजदुरका गुनासोबारे टोक्ला चिया बगान व्यवस्थापन समूहका सदस्य लोकनाथ दङ्गालले भन्नुभयो, ‘चियासम्बन्धि नियमावली खारेज गरिदिएर एउटै नियमावली आयो । त्यसपछि तुरुन्तै चिया व्यवसायिहरुले सरकारसँग यो हामी कार्यान्वयन गर्न सक्दैनौं, यसमा विचार गर्नुप¥यो भनेर आग्रह गरेको हो ।’
उहाँले अगाडी थप्नुभयो, ‘कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएपछि सरकारबाट के निर्णय हुन्छ त्यै अनुसार हामी अघि बढ्छौं । ’त्यसै पनि अहिलेको श्रम ऐनले चिया मजदुरको ज्याला अरु क्षेत्रका मजदुरको भन्दा कम तोकेको छ । थोरै भए पनि तोकिए अनुसार ज्याला र सुविधा नदिँदा मजदुरहरूको चित्त दुखेको हो ।
बनेको ऐन कार्यान्वयनका लागि सरकारले उचित कदम त चाल्नुपर्छ नै, मुलुकभित्र बनेको ऐन कार्यान्वयनका लागि उद्योगी पनि जिम्मेवार बन्नुपर्छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५, १३:५८