काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सामुदायिक रेडियोहरूका समस्या समाधान गर्दै हातेमालो गर्न सरकार तयार रहको बताउनुभएको छ ।
सोमबार सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)ले बुझाएको ज्ञापन पत्र बुझ्दै सरकारको प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले नेपालका सामुदायिक रेडियोहरू नागरिकका सुख दुखका साथी र सञ्चारका संवाहक रहेको भन्दै सामुदायिक रेडियोका समस्या समाधान गर्न सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो ।
रेडियोले आम नागरिकलाई कानुन लगायत विषयमा चेतनाजन्य जानकारी पुर्याउनुपर्नेमा भन्दै उहाँले अब सामुदायिक रेडियो पनि सङ्ख्यात्मक भन्दा गुणात्मक विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
उहाँले नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउने गरी कानुन बनाउने तयारी भइरहेको पनि बताउनुभयो । नेपाली सञ्चार क्षेत्रका धेरै कानुन पुरानै रहेकाले तिनमा संशोधन र कतिपय नयाँ कानुन बनाउनुपर्ने अवस्था रहेको मन्त्री शर्माले बताउनुभयो ।
अकोराबका अध्यक्ष अर्जुन गिरीले सङ्घीय कानुन निर्माण गरी सामुदायिक रेडियोको गुणात्मक विकासमा सहजीकरण गरिदिनुपर्ने, सामुदायिक रेडियोको नवीकरण जिल्लामै गर्न सकिने व्यवस्था रहेकोमा अहिले प्रदेशको राजधानी पुग्नुपर्ने अवस्था बनेकोले त्यसको अन्त्य गरिनुपर्ने, रोयल्टी मिनाहा हुनुपर्नेलगायत माग राख्दै मन्त्री शर्मालाई ज्ञापन पत्र बुझाउनुभएको थियो ।
अकोराबले यसअघि नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका महासचिव शकर पोखरेललाई पनि छुट्टाछुट्टै भेट गरी ज्ञापन पत्र बुझाएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९