काठमाडाैँ । नेकपा एमालेले सरकार छोडेको छ । सरकारमा एमालेका तर्फबाट सहभागी भएका ८ जना मन्त्रीले राजिनामा बुझाएसँगै एमाले औपचारिक रुपमा सरकारबाट बाहिरिएको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पाैडेल नेतृत्वमा मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामापत्र बुझाउनुभएको हो ।
आज विहान बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । सरकारमा एमालेबाट पौडेल सहित ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरिप्रसाद उप्रेती रक्षामन्त्री हुनुहुन्थ्यो ।
राष्ट्रपति निर्वाचनमा सरकारको नेतृत्व गरिरहेको माओवादीले कांग्रेससँग सहकार्य गरेपछि एमाले सरकारबाट बाहिरिएको हो । राप्रपा यसअघि नै सरकारबाट बाहरिएको छ । राप्रपा र एमाले बाहिरिएपछि अब १६ वटा मन्त्रालय खाली भएका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९, १५:५७