मानिसको उमेर बढ्दै गएपछि उमेरजन्य रोग व्याध लाग्ने सम्भावना बढी हुन्छ । कतिपयमा समुदायको रहनसहन, बसोबास क्षेत्रानुसार र वंशाणुगत रोग व्याधले सङ्क्रमण गर्न सक्छ । अहिलेको औषधोपचार र भौतिक सुविधाको बलमा कैयौँ रोग व्याधको समयमै पहिचान गरी नियन्त्रण गर्न, कम गर्न र निमिट्यान्न बनाउन पनि सकिएला । बेलैमा विचार पुर्याई खानपान, रहनसहनमा परहेज गरेर शारीरिक समस्या ननिम्त्याएका मानिस वयस्क हुँदा गरिएको जीवनयापनको विवेकी प्रयोगले पाको उमेरमा पनि आनन्दको जीवन व्यतीत गरिरहेका हुन्छन् ।
हालै गरिएको एक अध्ययनले सबैभन्दा खुसी र आनन्दित मान्छेको सूचिमा पाका मान्छे अर्थात् ६० वर्षमाथिका नागरिक रहेको पत्ता लगाएको छ । आर्थर ब्रुक, बबर्ट वाल्डिङ्गर, अमेरिकी शारीरिक संस्था लगायतले गरेको अनुसन्धान विज्ञान पत्रिका र एटलान्टिक समाचारपत्रमा छापिएअनुसार जति उमेर पाको हुँदै जान्छ मानिस उति धेरै खुसी, रमाइला, मनोरञ्जनात्मक र शान्त स्वभावका हुने गरेको पाइएको छ । आफैँ बदलिन नसकेका पाका मान्छे भने उमेर बढ्दै गएपछि झन् बढी नकारात्मक, एकलकाँटे भएर चिन्तित, दुखी, गनगने र निराश भई जिउन बाध्य हुन्छन् ।वास्तवमा आनन्दको बाँकी जीवन बनाउन पाका मान्छे आफैँ अघि सर्ने हो भने संसार हाँसीखुसी बाहेक केही छैन भन्ने नै लाग्न थाल्छ । जीवनको त्यो रहस्यको ‘मूल भोटे ताल्चाको साँचो’ पाका मान्छेकै खल्तीमा छ, त्यसको उपयोग गर्ने कि ‘बिरालाको बिस्टा बनाउने’ उहाँहरूकै जिम्मामा छ ।
पाका मान्छेमा केही सम्पत्ति हुन्छ । पुस्तैनी सम्पत्ति, सुखी केटाकेटी बेला, संयुक्त परिवारको आनन्द, उमेरका सप्तरङ्गी कामका अनुभव, उमारिँदा जटिल शारीरिक अवस्थाले अति औषधि सेवनको त्रास । त्यसैले पाको उमेर तथ्य प्राप्ति र स्वीकार्यताको चरम बेला हो । यसलाई मनन गरेरै पाका मान्छे बारेमा हार्वर्डको अध्ययनले अरू उमेर समूहभन्दा बढी ध्यान दिन सक्ने जीवनका सात महान् कार्य गर्ने अवसर पाउने बताउँछन् । त्यसमा धुमपान कति गर्ने, शरीरको तौल कति राख्ने, व्यायाम गर्ने, भावनात्मक कुराको सन्तुलन, अध्ययनको महत्त्व र सम्बन्ध विकास आदि गरिनै पर्ने कामबारेमा सहज उपाय पाका मान्छेका दैनिकी भनी प्रचारित पनि गरेका छन् ।
धुमपान त्याग्ने: पाका मान्छेले अप्ठ्यारो पर्यो भने धुमपान सजिलै त्याग्न सक्छन् । यसको उल्टो ‘उमेरमा तन्काएकै हो, अहिले त आर्जन नभएर पो’ भनी धुवाँ तान्न लुब्ध भई कसैले ठुट्ट्याउन लागेको धुमपानलाई ‘ए बाबु हात पोल्ला, लेऊ, म मिल्काई दिन्छु’ भनी ठुटो चुस्न खोज्नु झन् घातक बानी हुन्छ । अर्काको जुठोले आफूलाई नभएको रोग समेत सर्न सक्छ, बेकारमा सम्भावित दुःख बेसाउने काम पाका मान्छेले नगरौँ । हो, कसै कसैले पहिलो पटक छोड्ने निर्णय गर्दा तलतलले हैरान हुन सक्ला तर बाँकी जीवन धुमपान बिहिन स्वच्छ दिनहरू हुनेछन् र दुख घट्ने कुराले पाका मान्छे ‘भीष्म निर्णय गर्न’ सक्छन् । यसले त झन् असक्त अवस्थामा मद्दत पुगेर खुसीका पल बढ्छन् ।
मद्यपान नगर्ने गर्नै परे सीमित मात्र: धुमपान र मद्यपान सम्बन्धित देखिन्छन् । यिनले पाका मान्छे रोगाउने अवस्था सिर्जना गर्छ । मद्यपान र धुमपान सामान्य मानिने समुदाय र परिवारमा पनि पाको उमेरमा स्वविवेक प्रयोग गरेर दुखबाट टाढा पर्न सकिन्छ । कतिपय परिवारमा परम्परागत ‘जनजाती’ समुदायमा पनि ‘साधु’ प्रकृतिका मानिस भेटिन्छन् भने अन्य समुदायका मानिस ‘एक नम्बरका मतुवा’ भेटिन्छन् । यो स्वेच्छा, बानी र आत्मबलको परीक्षणको उपार्जन नै हो नि ! पाको उमेरमा रौसिएर ‘आ.. पाको बेला तिन पाने हो र ? विदेशी पो त, फलानाले भनिहाल्यो नाइँ भन्न सकिनँ’ भनी लोभिनाले कति समयपछिको विष सेवन ‘सधैँको सम्भार चोर आउना दिन बिसम्भार’ भएर थला पर्न के बेर ? अब त बोली होस् कि खानपान केहीमा पनि ‘मुख छोड्ने काम’ प्रत्युपादक हुन्छ है ।
शारीरिक तौलमा ध्यान: उमेरिँदो शरीरमा अछन्द्याईलो मासु बोसो थुप्रिनु, पेट पुक्क देखिनु सुख र आनन्दको परिचय अहिले एक्काइसौँ सताब्दिमा होइन । बढेको शरीरको तौल र त्यस्तो अवस्था ‘धनाढ्यको कुरुपपन’ वा रोग निम्त्याउने ब्यहोरा हामीलाई काम छैन ! बढी चिप्लोचाप्लो र शरीरलाई गरिष्ठ असर गर्ने खानपान होइन सन्तुलित र ऊर्जा दिने फलफूल, सागपात र अल्पहारी बानी ब्यहोरा नै स्वस्थ रहने उत्तम विकल्प हो । जिब्रोको स्वादका लागि र मन परेको भनेर होइन उमारिँदा शरीरको क्रियाकलाप नियमित कायम राख्न चाहिने शक्तिदायक खानपानतिर लहसिनु पाका मान्छेको हितमा हुन्छ । नपाउँदा ‘रुखासुखा’ भनिएका खानपान नै अहिलेका ‘जान्ने बुझ्ने र धनीले’ समेत हिरिक्क भएको मनन गर्दा भइगो ।
हिँडडुल: नियमित सकेको हिँडडुल पाका मान्छेको स्वास्थ्य रक्षाको लागि आवश्यक छ । बरु समयको निश्चितता, गति र क्षेत्रको निर्धारण अठोट अनुसार प्रमाणित मात्र गर्नु आवश्यक छ । कसैको भनाईमा उर्लेर होइन ज्यानले सक्ने र भ्याउने मात्र गरिनु पर्दछ । यस्ता कुरामा पाका मान्छे स्वयमको निर्णयनै अरूलाई पनि भर गर्न लायक हुन्छ । घर बाहिर निस्कन पर्ने र सहजै सकिने घरायसी विभिन्न काममा आफू अग्रसर भई सहयोग गर्न उत्सुक भए घरका पनि मक्ख, आफ्नो हिँडाइको मात्रा पनि पुग्ने ! पाका मान्छे यस्तो ‘एक पन्थ दुई काज गर्न’ सिपालु हुन्छन् । नभए अब गर्न सुरु गर्नु फाइदा पुग्नेमा दुबिधा नलिए हुन्छ ।
सम्झौतामा सिपालु: छ दशकभन्दा लामो अनुभवले कुन कुरा ठिक, कुन बेठिक र बाँकी मानव जीवनका लागि फाइदा हुने भनी ठम्याउन पाका मान्छे जान्दछन् । त्यसैले ‘कहिल्यै टसकाे मस नगर्ने’ पनि उमेरिँदा चुप लाग्ने, अलिअलि प्रतिक्रिया जनाउने वा आवश्यक परे सल्लाह दिनेसम्म गर्छन् । विवाद र गलफतीमा अल्झिन रुचाउन्नन् भने मन नपरे पनि स्विकार्न सक्छन् । धेरै हन्डर ठक्करले पाका मान्छेमा विपरीत कुरामा पनि जित्न नसक्ने देखिए सम्झौता गर्न पछि सर्दैनन् भने तल परेँ भनी किञ्चित हीनता देखाउन्नन् । यो उमेरमा ‘भनेको भएन वा पुछ्न छाडेकोमा’ चित्त दुखाई त गर्नै हुन्न, आफैँलाई क्षिण बनाउने काम पनि गर्नु र ? तपाईँका चार हात खुट्टा फैलाउँदा पनि अब नियन्त्रणमा स्थिति छैन भने किन पिलपिल गरेर बस्नुहुन्छ ?
सिक्न उत्सुक: जहिले पनि नयाँ कुरा सिक्न उत्सुक भइरहनु पाको उमेरमा अति फाइदा पुग्छ । त्यसो गरेमा तपाईँ जहिल्यै बेफुर्सदी मात्र होइन अरूको हाइहाइमा पर्ने र आफ्नो मस्तिष्क क्रियाशील भई आनन्दको जीवन जिउन सहज पार्नुहुन्छ । तपाईँलाई नयाँ कुरा सिक्न र अध्ययनकालागि त्रिभुवन विश्वविद्यालय भर्ना हुनुहोस् भन्या त होइन नि ! बाँकी जीवन अध्ययनमा बिताउने, नयाँ कुरा, प्रविधि वा विधामा आफ्नो चहानाअनुसार विकसित सामाग्री समयसापेक्ष हेक्का राखेर तत् विषयमा अद्यावधिक नियमित अध्ययन गर्ने बानी गर्नुहोस् भन्या हो । केही नभए दैनिक मौसमबारे, जनताको लागि केही गर्छु भनी फकाउनेले पदमा पुगेपछि गर्नुपर्ने नगरी नगर्नुपर्ने कामको परिभँडार गरेको सूचि तयार पार्न र हरेक दिन कसरी, कुन दिशामा सामाजिक विखण्डन भई रहेछ भन्ने अद्यावधिक आँकडाको फेहरिस्त बनाउन सक्छन् । अनि मस्तिष्क तरो ताजा र दैनिक सक्रियतामा कमी आउला र ?
सुखदायी सम्बन्ध: पाका मान्छे आफ्नै शारीरिक अवस्था, उमेरिएको कारण अनुभवको खातले किचिएको मानसिकता र आफू हुर्केको सामाजिक परिस्थितिभन्दा पृथक् संरचना आइपरेकाले बिस्तारै एक्लिँदै जाने सम्भावना रहन्छ । बाँकी जीवन सुखमय बनाउन कोही अरू उमेर समूहका अघि नसर्ने भएकाले आफैँ लागि मेली गर्नुपर्दछ । सबैभन्दा सजिलो र किफायती उपाय भनेको नातागोता, इष्टमित्र र चिनारुसँग हिमचिम अझै बढाउनु हो । भेटघाट र गफगाफमै समय सुइँकिहाल्छ, सके र मन पर्छ भन्ने लाग्छ भने अझ काम धाम, कमाई र घुमफिरबारे सोधपुछ गरे त दिन गएको पत्तो नै हुन्न । सोधनी गरिएको मान्छे उसको चासो राखेकोमा मक्ख मात्र होइन फेरी फेरी भेट्न पनि भन्न सक्छ, उ पनि उसको डिङ हँकाई सुनिदिने नपाएर कति तलब लिएको थियो होला ? त्यसैले पाका मान्छे आफ्नो अवस्था हेरेर मान्छे जोर्न पनि चलाखै हुनुपर्ने हुन्छ है ! उमेर सम्झेर ‘यति भइँ उति भइँ’ भनेर बस्ने होइन, बाँकी जीवन अझ सुखमय बनाउने हो, कोसँग भेट्दा पेट मिचेर हाँस्न सकिन्छ त्यस्ता साथी खोज्ने हो ।
ठूल्दाइका कुरा:
आजका ज्ञान विज्ञान र भौतिक उन्नतिको बाढी आएको बखत सामाजिक विखण्डन र व्यक्तिवादको बोलवालामा थिचिएर, पिल्सिएर पश्चिमाहरू पाका मान्छेको मनोविज्ञान, रोग व्याध र सामाजिक हैसियतबारेमा बेजोड अध्ययन गर्दै छन् । यता हाम्रातिरका बा आमा र ठूल्दाइहरू निकै पहिलादेखि समय हुँदो गरेर आनन्दले जीवन बिताई पार लागिसके । यस्तै भोगाइका एक ठूल्दाइ यस लेखौटेको अनुभवमा पनि भएको झल्याँस्स सम्झनामा आई लाग्यो । सन्दर्भ फरक परे पनि जीवन जिउने कलामा ती ठूल्दाइ मलाई पहिला काम न काजका लागे पनि अहिले पाका मान्छेमा पारङ्गत लागिरहेकाले केही संस्मरण लेख्न मन लाग्यो ।
गाउँको पुछारमा घरमा भएका एक बाका पाँच भाइ छोरामा एउटा उभिण्डेर देश लाग्यो, चार भाइ आँटो पिठो खान पुर्याउन भएको खेतबारीमै अल्झिएका थिए । साहिँलो अलि चलाख र बाह्रखरीसम्म सिध्द्याएको थियो । जेठा र माहिला सुनेर पाठ गरिने केही श्लोकबाहेक अरू त ‘कुन कोइली कुन काग?’ कान्छो सबैले कान्छो नै भनेर राखेका, अलि एकसुरे, भनेको राम्ररी नबुझ्ने भए पनि हातको लोहोटा नै थियो । बुझकी र दयालु बा जेठो र माहिलोको ‘कुरा चल्ने विवाह नहुने’ भएरै टुङ्गिएकाले ! घरबार भएको देख्न नपाउँदै घाट लागे । हँसिली र मिलनसार आमैले साहिँलाको सम्म दुलही भित्र्याइन तर थप केही देख्न पाइनन् ।
दुवै अभिभावक नभएपछि लबिधरे केटाहरूको उमेरअनुसार बढदै गरेको पेट सीमित घरबारीले धानेन र अनेक जुक्ति लगाएर साहिँलाले कार्यालय सहायकको काम पाए । केटाकेटी पनि फुतुफुतु देखा परे भने ‘जायजन्म गर्न सकेको बहादुर’को अतिरिक्त कमाई पनि हुन थाले पछि अब शान्तसँग बाँच्न छुटिभिन्न हुने तरखर भयो । कान्छाको बिहे केटी पट्टिकालाई झुक्क्याई गरेपछि सन्तान हुँदै थिए ‘बाक्लो दाल खाने इच्छा’ पनि पुरा गर्न सल्लाह गरेछन् । दुई भाइ एक्ला, ठूल्दाइ काममा पछि नहट्ने साहिँलोलाई चाहियो, माहिलो गफैको भर कान्छोलाई मनपर्यो । चर्चा गाउँ भरी भने ठूल्दाइकै हुन्थ्यो, उनी पुखला, हँसिला र ससानासँग सा¥है मिल्ने, माहिलो बोल्दा पनि ‘कालो बादलले डाँडो ढाक्न लागे झैँ अनुहार’ हेलमेल कमै ।
दुई भाइ निसन्तान पछि सन्तान पाएकी साहिँली बुहारीको चुरीफुरी खसमको सरकारी जागिर पछि त आफ्नै खालको थियो । घरमा पर्ने सबै खालका काममा लोग्नेकै थेगो समाती ‘लौन ठूल्दाइ, गाई करायो, घाँस नभएर हो कि ?’देखि साँझ जागिरे श्रीमान् आउँदा दिनभरि गाउँ डुलेर आए पनि ‘दिनभरि भ्याई नभ्याई छ, एक्लो ज्यान कति भ्याउनु ? ओहो भान्छा बसाल्न ढिलो हुने भो, पानी पो गाग्रीमा छैन, यतिखेर मूलमा जान नि डर लाग्छ’ सम्मका ललरीको गाँठो फुकाउने ठूल्दाइ । ठूल्दाइ बिहानै फेरी दौडिनुभन्दा भन्ने ठानी समसाँझैमा डोको, गाग्री र घल्चासहित लाग्थे मूलतिर । मूलबाट फर्किएका गाउँले महिला र बस्तुभाउ चराएर फर्केका पाका मान्छे भेटिएमा ‘दिनभरि उताउती गर्यो बेलुकाको जोहो नै झन्डै बिग्रेको !’ भन्दै ठूल्दाइ हाँसी हाँसी आफ्नो बुहारी पिरलो ङिच्च गर्दै नसोधे पनि सुनाउँथे ।
अलिअलि धुमपानको अम्मल उमेर भएको देखाउन सिकेका ठूल्दाइले करेसामा काँचो पात केही बोट उमार्थे र बिहान एक फेर ओठमा च्यापे पछि दिनभरि त्यसैको भरमा हुन्थे । उनको आविष्कार पनि रमाइलै हुन्थ्यो, सुर्ती सिद्धिएकोमा उनी वन जाँदा थाहा पाएको धैयाँरो र असारेको पात माडमुड पारेर गुम्स्याई पनि प्रयोग गर्थे । एक फेर स्वास्थ्य सेविकाले खोकी कडा लाग्यो भनी भेट्न जाँदा सुर्तीको बैगुन भनेपछि उनले आफ्नो जोहो बन्द त गरे । तर बुङ्बुङ धुवाँ उडाउँदै आई पर्ने आफूभन्दा साना र किशोरलाई ‘हैन, तैँले त फोक्सै कुहाउने भइस, दलिन त त्यस्तो कालो हुन्छ भात पकाएको धुवाँले, के ग¥या यति अचाक्ली ?ले बरु म तान्दिउँला’ भनी ठुटोको आस गर्थे । सोझा ठुल्दाइलाई जसले पनि ठुटो दिने चलन नै थियो, अझ फिल्टर चुरोट तान्ने भेटे त उनी ‘फेटावालको स्वादै अर्को, मैले नि तानेको छु, यो कस्तो ले त’ भनी आसे दृष्टि लगाई हाल्थे । मद्यपान त गर्दैनथे तर ‘ठिटाले’ सरस्वती पूजा वा शिवरात्रिको प्रसाद भनी भाङ मिसिएको लड्डु ख्वाई उनको हालतको फजीती गरिदिन्थे । वर्षको एक दुई पटक भएका घटना उनका त्यसपछिका दैनिक भेटघाटका हँस्यौली बन्थे, ख्वाउनेलाई नराम्रो नभनी उनी आफैँ कुरा निकाल्थे ‘ख्याल रनाहामा पा¥यो र फलानाले’ भन्दै हि हि गर्थे । उल्टोसुल्टो नै काम गर्दा पनि दोष नलाउने भएर ठूल्दाइसँग जिस्कन सबैलाई मन पर्थ्यो ।
घरको शारीरिक श्रम पर्ने सबै काम गर्ने ठूल्दाइ आफ्नै भतिजाहरूका पनि बाबुले भनेझैँ ‘ठूल्दाइ’ नै थिए । केटाकेटी पढेमा पछि सुख पाइने आशामा स्कुल पुर्याउने, ल्याउने र उस्तै पर्दा शनिवार लुगासमेत पछारेर ल्याइदिने उनै थिए । काम बेलैमा गरिदिने भएर जे परे पनि घरका केटाकेटी ’ठूल्दाइ’ भनी झिँज्याई हाल्थे । कमाउने भाइका छोराछोरी भएर घुमाएर बुहारीले भने पनि उनी अग्रसर भइहाल्थे । सहर जाने भाइ भए पनि बेलाबखत नुन, मट्टितेल किन्न वा आफन्तकहाँ अरू नगएका बेला उनी निम्ता मान्न गएमा बस चल्न थाले पनि उनी प्राय हिँड्थे । भन्न त ‘आ.. पैसाको नास, त्यसमाथि गुन्द्रुक कोचे झैँ कोचिएर के चढ्नु ? म त खेतबारी, बालीनाली हेर्दै हिँड्छु, क्या रमाइलो ?’ भन्थे ।
प्राय आधा घान खाजा पाउने उनी ‘दिउँसो के बढी खानु ? बेलुका खानै छ, दिउँसोको ठेट्ना मकै र भुट्या गहुँ भन्दा त बेलुका सागको त्यान्द्रोसँग फेटा बाँधेको हलुवा कम मिठो र ? चपाउनै पर्दैन, घाँटीबाट खुत्रुक्कै झरी हाल्छ’ भनी कम खाजामा चित्त बुझाउँथे भने फूल उठेका मकै खाँदै आउनेसँग जोरबिजोर खेली जितेर खाजा पुर्याउँथे । बेलुका घरमा कम पाए ‘राती सुत्ने त हो नि भन्छन् हाम्रा ठूल्दाइ’ भनी बुहारी र भतिजा गाउँमा साँखुल्ये हुन्थे । पिङ खेल्न रमाउने ठूल्दाइ आफ्ना घरबाट बाबियोको एक त्यान्द्रो ल्याउने कहिल्यै कुरा गर्दैनथे । बरु गाउँका केटाकेटीलाई सोह्र श्राद्धदेखि नै ‘लौ, दसैँ आउन लाग्यो, पिङ त खेल्नै प¥यो, अहिलेको पाली मैले राम्रो हाँगा भएको बोट देख्या छु खर्कमा, मच्चाउन मज्जाले सकिन्छ । तिमीहरू एकाएक मुठा बाबियो ल्याउँछौ भने लठारो बाट्ने र पिङ हाल्ने जिम्मा मेरो भई’ भन्थे । केटाकेटी नौरथा लागेपछि एक मुठा बाबियो पुर्याउन उनी भएका ठाउँमा हाजिर हुन्थे ।
वास्तविकता:
अलि ठुलो भएपछि मलाई ठूल्दाइका कुरामा भोगाइको गहिरो पिडा छ भन्ने लाग्न थाल्यो । एक पटक सहरमा किनमेल गर्न जाँदा भेट हुँदा मैले बसमा जान कर गरेँ उनले मानेनन् । म पैसा हाल्छु भाडाको भने पछि उनले, ‘यसपल्ट त हाल्छौ, अर्को पल्ट के गर्नु नि, फेरी बानी लाग्छ’ भने । ‘किन, किनमेल गर्न आउँदा भाडा दिन्नन् र ?’ भन्दा उनका आँखा रसाएको देखेँ, मैले थप कुरा थाहा पाउन खानपिन र लुगाफाटोको कुरा सोधेँ । उनले करिब रुन्चे स्वरमा आफ्नो एकाङ्गी जीवनमा विभिन्न रहर भए पनि जसको भरमा बसेको छ उसलाई अप्ठ्यारो लागे आफू ओत बिनाको भइएला भनी डर लागेको बताए । अनि आफ्नो दृढ अठोट सुनाए, ‘हेर बाबु, तँ अलि ज्ञानी छस् कसैलाई नभनेस्, मानिस आखिर अजम्मरी होइन, मेरो अब घरबार हुने दिन गए, जतिञ्जेल बाँच्छु सकेको गर्छु, हरेक अप्ठ्यारा लागेका कुरालाई म हाँसी हाँसी मेरो कर्म यही हो भन्छु । आखिर आनन्द मान्ने भनेको मनले त हो नि, म मान्छु, चिन्ता त हुन्न ।’
सुईय्य्य्य श्वास फेर्दै भने ‘अचेल त अलि कम काम गर्न सक्छु, त्यसैले ज्यास्तै घोचपेच गर्छन्, म त कान अलि कम सुन्न थालेँ भन्दिएको छु, त्यसैले उनीहरूका सबै मनका कुरा पनि सुन्दैन भनेर भनेको सुन्छु । औडाह भयो भने बोल्न नसके पनि खोकी लाग्या जस्तो गर्छु, आफैँलाई मन बुझाउन । हाँसी हाँसी नबाँचेर किन पिलपिल गरिरहनु ? म कहीँ जाने होइन एक दुई जोर लुगाले पुगिहाल्छ, बाको स्टकोट बेलाबेला खरानी पानीमा हाली धुन्छु कति सफा र नरम हुन्छ, अझै कति माघ खप्छ ? म त्यसैले त तिमिहरू जस्ता केटाकेटीसँग रमाउँछु नि, तिमिहरूको मनमा पाप छैन के ! पापीहरूसँग त म कम बोल्छु, कान सुन्दिन भन्दिन्छु, कहिलेकाहीँ त आँखा पनि कमजोर भएछ भन्छु । जत्ति भोक लागे पनि घरमा भन्दिन, एकपल्ट आज भोक लाग्यो है भन्या, ‘कति खानकै ध्याउन्न, काम केही सिन्को भाँचेको छैन’ भने ।’ ‘हुन त घरको सबै काम मै गर्छु, बुहारीको सबै काम मै गर्छु, तर अचेल जस पाउन छाडेकाले म झन् चुप लाग्ने, काम मै रमाउने र बाँचुन्जेल आनन्द मान्ने गर्नुपर्छ भनी अठोटेको छु । मैले पिलपिल गर्दैमा दुख घटने होइन बरु आफैँलाई अशान्ति भई चाँडै मरिन्छ । के के देख्नु छ किन काल नआई मर्नु ?’
ठूल्दाइका थुप्रै कुरा बाँध फुटेर पानी बगेझैँ मैले सुनेँ, अनि मेरा आँखामा विगतमा अप्ठ्यारो र उल्टोसुल्टो उहाँको स्थितिको सफा चित्र सिनेमाको रिलझैँ घुमे । वास्तवमा ठूल्दाइ पाका उमेरमा हरेकले भोग्नुपर्ने स्थितिका सकारात्मक नमुना रहेछन् भन्ने लाग्यो । पछिपछि म उहाँसँग उल्लिएर होइन एक्लै पारेर कुशल क्षेम सोध्दथेँ र सहरबाट फर्कँदा उहाँलाई मनपर्ने पुष्टकारी किनेर लगिदिन्थेँ । उहाँ एउटा खाई मलाई ‘अरू मलाई नै हो भने, घर लान्न भोलि गोठाला जाँदा वा दिउँसो काममा जाँदा हात पार है’ भनी दबेको स्वरमा भन्नुहुन्थ्यो । म मुन्टो हल्लाएर बाटो लाग्थेँ । केही वर्ष अघि ठूल्दाइ सामान्य ज्वरोले थलिए, घरेलु केही औषधि बाहेक उनको मुखमा अरू परेको थाह पाइएन । भेट्न जाँदा खानाको कमीले पेटमा औडाह हुन्छ भन्थे र कसैलाई दोष लगाउँदैन थिए, केही दिनमा बिते । वास्तवमा ठूल्दाइले ‘आनन्द आफैँ मान्ने हो अर्काले पार्दिने होइन’ भन्ने भनाई श्वास रहुन्जेल आफूमा लागु गरेर गए ।
अन्त्यमा,
पाको उमेरमा असन्तोषी, गनगने र खोचे थाप्ने स्वभाव भएमा अझै दुःख पाउने निश्चित छ । घरमा सकेको काम गर्ने, कम बोल्ने र जति बढी सन्तोषी हुन सक्यो त्यति सहज जीवन हुन्छ । आनन्द आफैँ मान्ने मूल मन्त्र पाकाले नबिर्सौँ ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९, १७:१३