काठमाडाैँ । नेपालले विश्वकप लिग-२ क्रिकेट अन्तर्गतको त्रिकोणाात्मक शृंखलामा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यूगिनीलाई ४ विकेटले हराएको छ । २ सय ४ रनको लक्ष्य नेपालले खेल सकिन २८ बल बाँकि हुँदै ६ विकेट गुमाएर भेट्टाएको हो ।
नेपालका ओपनर कुशल भुर्तेलले ५६ र आसिफले ३९ बल खेल्दै ५ चौकासहित ४४ रन बनाउनुभयो । कुशलको एकदिवसीय अन्तर्राष्ट्रियमा यो चौथो अर्धशतक हो । यस्तै आरिफ सेखले ३३ र दिपेन्द्रसिंह एेरीले २२ रन बनाउनुभयो ।
बलिङमा नेपालका गुलशन झाले ३, कुशल मल्लले २ तथा सोमपाल कामी र करण केसीले एक एक विकेट लिनुभयो । अघिल्लो हप्ता नामिबिया र स्कटल्यान्डसँगका ४ वटै खेल जितेको नेपालले एकदिवसीय अन्तराष्ट्रियमा लगातार ५ खेल जितेको यो पहिलो पटक हो ।
नेपाल २९ खेलको समाप्तिमा २८ अंकसहित सात राष्ट्र सहभागी लिग-२ को छैटौं स्थानमा छ । नेपालले बाँकी रहेको ७ मध्येको ४ खेल जितेमा शीर्ष पाँचभित्र परेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्ने छ भने ६ खेल जितेमा शीर्ष ३ राष्ट्र बन्दै जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा पुग्ने छ ।
यूएई भ्रमणमा नेपालले पपुवा न्यु गिनी र यूएईसँग २–२ खेल खेल्ने छ । त्यसपछि काठमाडौंमा पपुवा न्यूगिनी र यूएईसँगै २–२ खेल खेल्ने छ ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९, १९:१२