काठमाडाैँ । नेपाल प्रज्ञा प्रतिष्ठानले यसअघि सरकारी कोषबाट सुविधा लिइरहेका प्रतिष्ठानका आजीवन सदस्यहरुलाई मासिक पारिश्रमिक नदिने निर्णय गरेको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाल सरकार, विश्वविद्यालय, तथा अन्य निकायबाट निवृत्तिभरण लिइरहेका आजीवन सदस्यलाई फागुनबाट मासिक पारिश्रमिक नदिने निर्णय गरेको जानकारी दिनुभयो । प्रतिष्ठानका अनुसार आजीवन सदस्यका रुपमा २० जनाले प्रतिष्ठानबाट मासिक ५१ हजार ४ सय रुपैयाँ पारिश्रमिक लिइरहेका छन् । कुलपती राईले दोहोरो सुविधा पाइरहेका सदस्यको पारिश्रमिकबापतको रकम खोज अनुसन्धानमा खर्च गर्ने बताउनुभयो ।
प्रतिष्ठानले नवनियुक्त प्राज्ञहरुको कार्य विभाजन समेत गरेको छ । कुलपति भुपाल राईलाई संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास विभाग, प्रतिष्ठानले विमल निभालाई बालसाहित्य विभाग, मधुसुदन गिरीलाई दर्शनशास्त्र विभाग, राजन मुकारुङलाई मातृभाषा साहित्य विभाग, बाबा बस्नेतलाई पद्य साहित्य विभाग प्रमुख, कौशिला रिसाललाई सामाजिक शास्त्र विभाग, हंसावती कुर्मीलाई अनुवाद, अमर न्यौपानेलाई गद्य साहित्य, त्रैलोक्यमान बनेपालीलाई मातृभाषा कोष, व्याकरण र धनप्रसाद सुवेदीलाई भाषा कोष र व्याकरण विभाग प्रमुख तोकेको प्रतिष्ठानले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९, १९:५०