काठमाडौँ । नेपालमा रासायनिक विषादीको प्रयोग बर्सेनि बढ्दै गएको छ । प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार नेपालमा कृषि उपभोग्य बस्तुमा विषादीको प्रयोग ८ वर्ष अघिको तुलनामा साढे ७२ प्रतिशतले बढेको हो ।
व्यावसायिक खेती बढेसँगै किटनाशक विषादीको आयात, किनबेच र प्रयोग बढेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कृषि उपभोग्य बस्तुमा बर्सेनि १५ देखि २० प्रतिशतका दरले विषादीको प्रयोग बढ्दै गएको छ । विषादीको प्रयोग सबैभन्दा बढी तरकारीमा हुने गरेको छ । जस अनुसार प्रतिहेक्टर औसतमा १६ सय ५ ग्राम सक्रिय विषादीको प्रयोग भइरहेको केन्द्रले जनाएको छ ।
किसानले जथाभाबी विषादीको प्रयोग गर्ने गरेको र पछिल्लो समय नयाँ नयाँ रोग किरा बढेकाले विषादीको प्रयोग झन् बढ्दै गएको केन्द्रका विषादी व्यवस्थापन तथा पञ्जिकरण शाखा प्रमुख मनोज पोखरेलले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार विषादीको प्रयोग मात्र होइन असुरक्षित प्रयोग पनि बढ्दै गएको छ । प्राविधिकहरूबाट सल्लाह लिई सकभर कम विषालु र सिफारिस गरिएको विषादी मात्र प्रयोग गर्नुपर्नेमा आफूखुसी वा बिना सिफारिस एग्रोभेटले भनेका भरमा विषादी प्रयोग गर्ने गरिएको केन्द्रले जनाएको छ ।
विषादीको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गर्नुका साथै माटोको उत्पादकत्व पनि घट्ने विज्ञको भनाइ छ । विषादीको प्रयोगबारे किसान र उपभोक्ता सचेत हुनुपर्ने कृषि वैज्ञानिक डाक्टर घनश्याम गौतमले बताउनुभयो । उहाँका अनुसार विषादी प्रयोगकर्ताले समेत विषादीको प्रयोग गर्दा ध्यान पुर्याएका छैनन् । विषादी प्रयोग गर्दा शरीरका सबै अङ्गहरूबाट विषादी भित्र पस्न सक्ने भएकाले पूरा शरीर ढाकिने लुगा, चस्मा, पन्जा, मुखमा मास्क वा रुमाल बाँधेर मात्र विषादी छर्नुपर्छ । हावा चलेको बेला, पानी पर्दै गरेको बेला र बाली टिप्नुभन्दा लगत्तै अघि कहिल्यै विषादी छर्नु हुँदैन । तर त्यस्तो सावधानी पनि अपनाइएको छैन ।
कृषि बाली उत्पादन र भण्डारणमा देखिने रोग कीरा नियन्त्रण गर्न सम्भव भएसम्म रासायनिक विषादीको विकल्प खोज्न कृषि वैज्ञानिक डाक्टर गौतमको सुझाव छ । विषादीको प्रयोगले लाभदायक जीवहरू जस्तै माहुरी, माछा, भ्यागुता, छेपारा, चरा, सिकारी तथा परजीवी कीरा तथा सूक्ष्म जीवमा प्रतिकूल प्रभाव पार्ने उहाँको भनाई छ । यसले घरपालुवा एवम् जङ्गली जनावरमा समेत प्रतिकूल प्रभाव पार्छ ।
विषादीको जथाभाबी प्रयोगले जैविक विविधतामा ह्रास आउने, खाना तथा वातावरणमा विषादीको अवशेष, जलवायु परिवर्तन, तथा ओजन तह पातलो हुने कृषि विज्ञले बताउँदै आएका छन् ।
विषादीको प्रयोग आवश्यक पर्ने नै भएमा सुरक्षित र प्रभावकारी विषादी सावधानीपूर्वक छर्न कृषि विज्ञको सुझाव छ । पर्खने अवधि पछि मात्र टिप्ने, विषादीको सम्पर्कमा हुने विभिन्न व्यवसायमा संलग्न व्यक्तिले विषादी शरीर भित्र नपस्ने पहिरन लगाउने, घर र भान्सामा आएको फलफूल र तरकारीलाई विषादीको अवशेष कम गराउने उपायहरू अपनाउन सकिएमा मानिस र पशुपन्छीको स्वास्थ्यमा विषादीबाट हुने अल्पकालीन र दीर्घकालीन असर न्यून गर्न सकिने कृषि वैज्ञानिक डाक्टर घनश्याम गौतमको भनाइ छ ।
विषादी प्रयोग गरिएका उत्पादनलाई बन्देज गर्नुका साथै कृषि उत्पादनको परीक्षणलाई प्रभावकारी बनाउनुपर्नेमा विज्ञले सुझाव दिएका छन् । नेपालमा कृषि उत्पादनमा विषादीको प्रयोग बढिरहेको छ भने भारतबाट विना परीक्षण कृषि उत्पादन नेपाल भित्रिरहेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९