धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित राजदेवी मन्दिरबाट चाँदीका मूर्तिसहित गरगहना चोरी गर्ने पाँचजना युवकलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने ३७ वर्षीय रजाक मोहमद, विदेह नगरपालिका न.४ सुन्दरपुर बस्ने २९ वर्षीय मोहमद हबगुल्ला साह, २२ वर्षीय नर्सुदिन साह, ३० वर्षीय सरिफ मुसलमान र कमला नगरपालिका ७ हथमुन्डा बस्ने २२ वर्षीय रमेश कुमार महतो छन् ।
सीमापारि भारत जान लागेको बेला प्रहरीको विशेष टोलीले उनीहरूलाई धनुषाको पूर्वी क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट चोरी गरिएका सरसमानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूले राजदेवी मन्दिरबाट फागुन १४ गते राति ताला तोडेर देवीको चाँदीको मूर्ति, मुकुट अर्धवृत्त आकारको वस्तु (पाता), गिलास र सुनको मंटिका, नथिया, सिक्री, कानको झुम्कालगायतको सुनचाँदीको सरसामानहरू चोरी गरेको धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौतमले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरूले जनकपुरधाम उपमहानगरपालिका १२ कुवा स्थित हनुमान मन्दिरमा समेत चोरी गरेको खुलेको धनुषाका एसपी खड्काले बताउनुभयो ।
उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९