काठमाडौँ । आठ जना गजलकारका सेरहरू समावेश गरेर एउटा गजल तयार पारिएको छ । अमेरिकामा रहेर नेपाली गजलको क्षेत्रमा क्रियाशील संस्था ‘गजलयात्रा’को अगुवाइमा गजल ‘तिमीलाई हेर्दाहेर्दै‘ सार्वजनिक गरिएको हो ।
अमेरिकाका विभिन्न राज्यमा बस्दै आएका आठ जना गजलकारले लेखेको गजलमा सङ्गीत र गायन केशव पौडेलको छ । गजलको एरेन्ज जुगल डङ्गोलले गर्नुभएको छ ।
गजलकार आनन्द श्रेष्ठको मतला रहेको गजलमा पवन लामिछाने, कृष्ण कुसुम, रोहित राना, गोवर्धन पूजा, डिल्लु चम्लागाई, बासुपुष्पा अधिकारी र सतीश त्रिपाठीका सेर समावेश छन् ।
केही नयाँ गरौँ भनेर यस्तो प्रयोग गरिएको जलयात्राका एक संस्थापक तथा गजलकार पवन लामिछानेले बनाउनुभयो। कोरोनाको बेला नजिकका साथीले एक सेर लेख्दै बाँकी सेर थपेर गजल पुरा गरौँ भनेर फेसबुक समूहमा पालैपालो राख्ने गर्दै यो गजल पूरा गरिएको उहाँले जानकारी दिनुभयो । त्यही बिचमा एक एक शेर गजल वाचन गर्दै भिडियो बनाएर अपलोड गरिएको र पछि सबैको सल्लाहमा रेकर्ड नै गरिएको उहाँले बताउनुभयो । ‘गजलको क्षेत्रमा भैरहेको गुटबन्दी र आरोप प्रत्यारोपण चलिरहेको समयमा यस प्रकारको सहकार्यले नेपाली गजल क्षेत्रमा सकारात्मक सन्देश दिनेछ भन्ने आशा गरेका छौँ’ लामिछानेले भन्नुभयो ।
गजल
तिमीलाई हेर्दाहेर्दै रातै बितोस् सहन्छु म
बत्ती पनि घरी बलोस् घरी निभोस् सहन्छु म।
(आनन्द श्रेष्ठ)
फूलै फूलको बगैँचामा बस्ने मेरो चाहा छैन
तिम्रो दिलमा बस्न पाए काँडै बिझोस् सहन्छु म।
(पवन लामिछाने)
सारा संसार भुलिदिएँ,तिम्रो प्रेममा डुबेपछि
दुनियाँले पागल प्रेमी भने भनोस् सहन्छु म।
(कृष्ण कुसुम)
तिमीलाई पाउन म त आफैसँग हार्न सक्छु
चाहे आँधी आओस् चाहे हुरी चलोस् सहन्छु म।
(रोहित राना)
आँखा छेउ बस्छु भन्थ्यौ, पूरै मुटु सुम्पेको छु
वचनको त के कुरा भो १ ज्यानै जाओस् सहन्छु म।
(गोवर्धन पूजा)
आफैसँग टाढा हुन्छु तिमीदेखि टाढा हुँदा
नजिक हुँदा दुनियाँले बिर्से बिर्सोस् सहन्छु म ।
(डिल्लु चम्लागाई)
मेरो खुसी भन्नु तिमी, मेरो प्राप्ति मात्रै तिमी
जिन्दगीले तिमी बाहेक सबै खोसोस् सहन्छु म ।
(बासुपुष्पा अधिकारी)
नबिथोल आजको रात पूर्ण हुने तयारमा छु
भोलिदेखि नचिने झैँ गर्नु परोस् सहन्छु म ।
(सतीश त्रिपाठी)
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९, १३:५८