कति हजार वर्ष पछि
दास मालिक बन्छ ?
कति हजार वर्ष पछि ?
जातहरू कहिले पखालिएलान्
विभेद भरिएको मगजमा ?
धर्म कहिले बन्ला दर्शन
अनि लामा, पुरेत र पादरीहरूले
फसाद रच्नबाट फुर्सद पाउलान् ?
सेतो सेतो नै रहला
कालो कालो नै,
तर के रङ्गभेद नासिनेछ ?
कति हजार वर्षपछि
पददलितहरूको हृदयबाट
हराउनेछ हीन भावना ?
कति हजार वर्षपछि
सामन्तहरूको अहङ्कार मासिनेछ ?
भन्छन्, ईश्वरले भलो गर्छ ।
तर उसले कहिलेसम्म
नयाँ तरिकाले युद्ध गराइरहनेछ
यस सुन्दर धरतीमा ?
कहिलेसम्म संसारमा कोठी हुनेछ र त्यहाँ किशोरीहरू बेचिएको
युवतीहरू बन्दी भएको सहिरहनेछ ईश्वरले ?
गरिबहरू कहिलेसम्म गरिबै हुनेछन्
उसको साम्राज्यमा ?
देशहीनले कहिले पाउनेछन् घर फर्किन ?
कहिले गर्नेछ मान्छेले मान्छेको सम्मान,
कति हजार वर्षपछि ?
र, कति हजार वर्ष पछि ईश्वरको मृत्यु हुनेछ ?
कहिले पुछिन्छ आँसु रुनेहरूको ?
कहिले भरिन्छ घाउ दुःखीहरूको ?
कसले मेट्नेछ त्रासदीलाई ?
कति हजार वर्षपछि छाउनेछ सद्भावको इन्द्रेणी ?
समाजसेवाको कारोबार कहिले समाप्त हुन्छ ?
जनताको वैभवको ‘जिम्मा’ लिएका
संसारभरिका नेताहरूको सरकार कहिले ढल्नेछ ?
र, जनतामाथि कसैले पनि
राज गर्न नपाउने कहिले ?
कति हजार वर्षपछि ?
कति हजार वर्षपछि दास मालिक बन्छ ?
कति हजार वर्षपछि ?
ए, पृथ्वीका बासिन्दाहरू
भन, मेरो प्रश्नको उत्तर कहिले दिन्छौ—
कति हजार वर्षपछि ?
८ नोभेम्बर, २००७
आवरण तस्बिर-प्रभात आर झा
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९, १६:५५