काठमाडौँ । आज बिहान बसेको माओवादी विचारधाराका विभिन्न ८ पार्टीको बैठले विस्तृत शान्ति सम्झौताविरुद्धका गतिविधिको प्रतिवाद गर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने, सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउने निर्णय भएको विप्लव नेतृत्वको नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले जानकारी दिनुभयो ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न नरोक्नु भन्ने सर्वोच्च अदालतको आदेशपछि माओवादी विचारधाराका पार्टीबीच छलफल भएको हो ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीलगायत नेता आजको बैठकमा सहभागी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९, ११:१६