द्वारिकादेवी ठकुरानी नेपालमा मन्त्री हुने पहिलो, दक्षिण एसिया र एसियाबाट मन्त्री हुने क्रमशः चौथो र आठौँ महिला हुनुहुन्छ ।
द्वारिकादेवी नेपालमा मन्त्री हुने पहिलो महिला हुनुहुन्छ ।
एसियामै मन्त्री हुने पहिलो महिला भारतकी राजकुमारी बीबीजी अमृत कौर हुनुहुन्छ । कौर सन् १९४७ मै भारतमा नेहरु मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्री बन्नु भएको थियो ।
ब्रिटिश इण्डियाकालको कुरा गर्ने हो भने सन १९३७ मै विजयलक्ष्मी पण्डित तत्कालीन यूनाइटेड प्रोभिन्स (हाल उत्तरप्रदेस) की मन्त्री बन्नु भएको थियो ।
एसियामा मन्त्री हुने दोस्रो महिला उत्तरकोरियाकी हो जोंग सुक हुनुहुन्छ । उहाँ सन् १९४८ मा मन्त्री बन्नु भएको थियो ।
सन् १९४८ मै दक्षिण कोरियाकी यिम योंग शी मन्त्री हुनु भएको थियो । चीनकी शी लियाङ्ग सन् १९४९ मै मन्त्री बन्नु भएको थियो ।
त्यसैगरी बर्माकी खिन की सन १९५३ मै मन्त्री हुनु भएको थियो । दक्षिण एसियामा मन्त्री हुने दोस्रो महिला श्रीलङ्काकी विजय विजेवर्दने हुनुहुन्थ्यो । उहाँ सन् १९५६ अप्रिलमा मन्त्री बन्नु भएको थियो ।
त्यसैगरी तार्केश्वरी सिन्हा भारतमा सन् १९५८ मै नेहरु मन्त्रिमण्डलमा मन्त्री बन्नु भएको थियो । द्वारिकादेवी ठकुरानी १९५९ मे २७ (२०१६ जेठ १३) मा उपमन्त्री (पछि सहायकमन्त्री) बन्नु भएको थियो ।
यस हिसाबले ठकुरानी दक्षिण एसियाबाट मन्त्री हुने चौथो महिला हुनुहुन्छ । एसियाको हकमा ठकुरानी मन्त्री हुने आठौँ महिला हुनुहुन्छ ।
उसो त २००७ सालको क्रान्तिताका पाल्पा जनसरकारमा सुश्री तरुलता भट्टराई पनि काशीनाथ गौतमको नेतृत्वमा गठित जनसरकारकी शिक्षा मन्त्री बन्नुभएको थियो ।
काशीनाथ गौतम मन्त्री रहेको स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन मन्त्रालयमा द्वारिकादेवी सहायक मन्त्री बन्नु अनौठो संयोग थियो ।
तरुलता भट्टराई वैधानिक सरकारकी मन्त्री भने हुनुभएको होइन । त्तसर्थ नेपालमा वैधानिक सरकारकी पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी नै हुनुहुन्छ ।
प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९, १५:५७