काठमाडौँ । नेपालको शिक्षा प्रणालीमा समावेशी र विविधताको सबलीकरण अभिवृद्धि गर्ने सम्बन्धी कार्यक्रमको सुरुवात गरिएको छ ।
हरेक घरमा शिक्षाका लागि काम गर्दै आएको संस्था एजुकेसन इन एभ्री होम र मानवअधिकार आयोगको सहकार्यमा काठमाण्डौँमा एक कार्यक्रमको आयोजना गरेर यस बारेमा जानकारी दिइएको हो ।
संस्थाका संस्थापक अध्यक्ष होमराज आचार्यले शिक्षामा भएको असमानतालाई यो कार्यक्रमले हटाउने दावी गर्नुभयो ।
आचार्यले भन्नुभयो, ‘नेपालमै पहिलो पटक हामी पाठ्यपुस्तक अडिट गर्दैछौँ, पहिला सार्वजनिक विद्यालयका र पछि निजी बिद्यालयका पनि गर्नेछौँ ।’
नेपालको संविधानले निर्दिष्ट गरेका शिक्षाको अधिकारलाई कार्यान्वयनमा लैजाने र यसलाई मानवअधिकार आयोगले पनि प्राथमिकता दिएर अघि बढाउनुपर्ने भएकाले आयोगसँग सहकार्य गरेको उहाँले बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले यस कार्यक्रमले शिक्षा प्रणालीमा भएको विभेदको अन्त्य गर्ने बताउनु भयो ।
समाजमा रहेका हरेक वर्ग, क्षेत्र, समुदाय, सम्प्रदाय, जातजाति गायत शिक्षाबाट वञ्चित रहेका वर्गलाई उनीहरुको आवश्यकता र चाहना अनुसारको शिक्षा प्रदान गरी गुणस्तरीय जिवन यापन गर्न सक्ने बनाउने कार्यक्रमको उद्धेश्य छ ।
कार्यक्रममा अधिकार सम्बन्धी विभिन्न संवैधानिक आयोगका अध्यक्ष, सदस्य, पदाधिकारी, सांसदहरू, शिक्षाविद् र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९, १७:००