काठमाडाैँ । सामुदायिक रेडियोको आकस्मिक योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ । बीबीसी मिडिया एक्सनको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) ले विभिन्न जिल्लाका २५ वटा सामुदायिक रेडियोकर्मीको सहभागितामा कार्यशाला सम्पन्न गरेको हो ।
कार्यशालामा विपद्का बेलाको सञ्चार र आकस्मिक कार्य योजना बनाउँदा समेट्नुपर्ने विविध पक्षबारे छलफल भएको थियो । छलफलका सहभागीले बाढी पहिरो, भूकम्प, कोभिड लगायत समयमा रेडियो सञ्चारका सबैभन्दा प्रभावकारी माध्यम रहेको पाइएकाले यस्तो बेला सामुदायिक रेडियो र रेडियोकर्मीको भूमिका अझै बढ्ने भएकाले त्यसै अनुसारको विपद् कार्य योजना बनाउनुपर्ने बताउनुभयो ।
विपद्का बेला समुदायले सूचना र जानकारी अरू समयमा भन्दा बढी खोज्ने भएकाले यस्तो बेलामा सामुदायिक रेडियो र रेडियोकर्मी थप बलियो र व्यवस्थित गरी काममा खटिनुपर्ने भएकाले त्यसै अनुसारको कार्य योजना बनाउनुपर्नेमा सहभागीले जोड दिनु भएको थियो ।
कार्यशालामा सामुदायिक रेडियोको व्यवस्थापन, रिपोर्टिङ, प्राविधिक पक्ष लगायत विषयमा बेग्लाबेग्लै समूह छलफल गरी निष्कर्ष प्रस्तुत गरिएको थियो ।
विपद्को समयमा सामुदायिक रेडियोहरूले के के काम कसरी गर्ने भन्ने तय गर्न सहज होस भनेर सामुदायिक रेडियोको आकस्मिक योजना निर्माण गर्नका लागि कार्यशाला गरिएको सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीले बताउनुभयो । बीबीसी मिडिया एक्सनका कार्यक्रम संयोजक किरण भण्डारीले सामुदायिक रेडियोको आकस्मिक योजना निर्माण भए पछि सामुदायिक रेडियोले विपद्का समयमा राम्रो काम गर्न सक्ने बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९, १०:५२