काठमाडाैँ । नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संघीय संसद् भवन बानेश्वरमा दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको र मतदान सकिएलगत्तै गणना थालिने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएको बढीमा ४ घण्टाभित्र परिणाम आइसक्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।
निर्वाचनमा १४ वटा दलले सहभागिता जनाउँदै छन् । राप्रपाले राष्ट्रपति निर्वाचनमा भाग नलिने घोषणा गरेको छ ।
निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ । पौडेललाई ९ दलले समर्थन गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल आइतबार सकिँदै छ । निर्वाचनमा प्रतिनिधिसभाका २ सय ७२, राष्ट्रिय सभाका ५९ र सातै प्रदेशसभाका ५ सय ५० गरी ८ सय ८१ मतदाता छन् । सङ्घीय संसद् सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सदस्यको ४८ छ । दुवै सभाको तत्काल कायम रहेका मतदाताको कुल मतभार भने ५२ हजार ६ सय २८ छ ।
तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुने व्यवस्था छ ।