गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र वडा नम्बर ७ वामी र वडा नम्बर ३ जोड्ने बडिगाड खोलामा पक्की पुल निर्माणको काम तेस्रो पटक सुरु भएको छ ।
निर्माणको क्रममा दुई पटक भत्किएको पुल निर्माणको काम फेरि हुन थालेपछि स्थानीयबासी चाँडै सकिनेमा आशावादी छन् ।
“पहिलो पटक पुल भत्किँदा त हामी सबै निराश भयौँ । दोस्रो पटक पनि भत्किएपछि पुरै आशा मरेको थियो । अब त कहिले बन्दैन होला भन्ने मनमा लागेको थियो ।" स्थानीय प्रेम शाक्यले भन्नुभयो ।
मुसिकोट नगरपालिका वडा नम्बर ३ का दुर्गा खत्रीले दुई पटक नै पुल भत्किएको आफ्नै आँखाले देख्नुभयो ।
पक्की पुल तरेर हिड्ने सपना दुईदुई पटक चक्नाचुर भए पनि यसपाली भने निर्माण सुरु भएपछि पुल चढ्ने सपना पूरा हुने उहाँको अपेक्षा छ ।
डिजाइननैपरिवर्तनगरिनिर्माणगरिँदै
मुसिकोट नगरपालिकाको वडा नं २, ३ र ४ का स्थानीय प्रत्यक्ष लाभान्वित हुने उक्त पुल निर्माणको क्रममा पहिलो पटक २०७६ साल बैशाख १ गते र दोस्रो पटक त्यसको १ वर्षपछि २०७७ साल वैशाख ३ गते निर्माणकै क्रममा भत्किएको थियो ।
५५ मिटर लामो बडिगाड खोलामाथि बन्दै गरेको उक्त पुल निर्माणका लागि जलप नेपाल कम्पनीले काम सुरु गरेको हो ।
स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुल निर्माण हुँदैछ । यसपटक भने पहिलेको भन्दा केही डिजाइन परिवर्तन गरी बेलिब्रिज पुल निर्माण गर्न लागिएको हो ।
निर्माण व्यवसायी मोतिलाल सापकोटाले असार मसान्तसम्म निर्माणको काम सम्पन्न हुने दावी गर्नुभयो ।
उक्त पुल निर्माण भएमा मुसिकोट नगरपालिकाका ३ र ४ वटा मात्रै नभएर नगरपालिकाका ९ वटै वडाका नागरिकलाई सदरमुकाम तम्घास पुग्न र छिमेकी बागलुङ जिल्लाका नागरिकलाई समेत सहज हुनेछ ।
मुसिकोट केन्द्र वामीदेखि सदरमुकाम पुग्न अहिले रहेको ३४ किलोमिटर यात्रा १० किलोमिटर घट्ने छ ।
वडा नम्बर १ देखि ४ सम्मका नागरिकलाई नगरपालिका केन्द्रसम्म आउन समेत सहज हुने वडा नं २ का वडाध्यक्ष रविन्द्र केसीले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९