स्वतन्त्र विद्यार्थी युनियन, विद्यार्थीका हक हितका मुद्दामा कार्य गर्ने, विश्वविद्यालयको वातावरणलाई रचनात्मक बनाउन वैचारिक एवम् शैक्षिक गतिविधिमा सक्रिय रहने एवम् विश्वविद्यालयको पहरेदार रहने मूलभूत सिद्धान्त बोकेको विद्यार्थी नेतृत्व चुनिएर आउने संस्था हो ।
विद्यार्थीको मतबाट चुनिने स्ववियु आफैँमा एक लोकतान्त्रिक प्रणाली र देशको समग्र क्षेत्रमा आवश्यक कुशल नेतृत्व निर्माण गर्ने आधारशिला, 'यूथ पार्लियामेन्ट'को परिचय बोक्ने संस्था पनि हो । यो संस्था वास्तवमै स्वतन्त्र रहँदै सहीलाई सही र गलतलाई गलत भनी तर्क दिन सक्ने आवाजको रूपमा रहनुपर्ने, विश्वविद्यालयमा सृजनात्मक एवम् रचनात्मक गतिविधिमा सक्रिय रही सामाजिक, आर्थिक, राजनीतिक एवम् वैचारिक बहस गर्दै आम विद्यार्थीलाई उचित दिशा प्रदान गर्नुका साथै विद्यार्थी हकहितका मुद्दा, पठनपाठन, परीक्षा आदिका विषयमा बहस पैरवी गर्ने समूहको रूपमा परिभाषित हुन सक्नुपर्छ ।
तर, पछिल्लो समयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को परिभाषा यसको मूलभूत विषयभन्दा ठिक विपरीत दिशातर्फ बदलिँदै गएको हामी सहजै देख्न सक्छौँ । विद्यार्थी राजनीति र स्ववियु यी सबै मुद्दाबाट अलग हुँदै विश्वविद्यालयमा हुने आर्थिक गतिविधि, भर्ना तथा नियुक्ति, सरुवा तथा ठेक्कापट्टा जस्ता काममा आकर्षित र केन्द्रित हुँदै गरेको देखिन्छ । अर्कोतिर, रचनात्मक भन्दा ध्वंसात्मक क्रियाकलापमा बढी सक्रिय हुँदै जाँदा स्ववियुप्रति विद्यार्थीकै भरोसा उड्ने स्थिति बनेको छ । स्ववियु स्वतन्त्र एवम् निष्पक्ष तरिकाले कार्य गर्ने स्वतन्त्र विद्यार्थी संस्था कम पार्टीको निर्देशनमा मात्र चल्ने, भातृ संगठन जस्तो बन्ने र खराब राजनीति मात्र गर्ने दिशातर्फ अगाडि जाँदै गर्दा स्ववियु र विद्यार्थी राजनीतिप्रति आम विद्यार्थीको दृष्टिकोण नकारात्मक बनिरहेको छ । विश्वविद्यालय परिवार एवम् विद्यार्थी स्ववियु चुनावप्रति उदासीन र निष्क्रिय बनेजस्तो देखिन्छ । तसर्थ वर्तमान परिस्थितिमा स्वतन्त्र विद्यार्थी युनियनलाई पुनः आम विद्यार्थीको समस्या समाधान गर्ने केन्द्रको रूपमा स्थापित गर्न स्वतन्त्र नेतृत्व आवश्यक देखिन्छ ।
टायर बाल्ने, सवारीसाधनमा आगो झोस्ने, ध्वंसात्मक आन्दोलन गर्ने, बन्द हडताल गरी सर्वसाधारण र विद्यार्थीलाई दुःख दिने, तालाबन्दी गर्ने, पार्टीको निर्देशनमा मात्र चल्ने व्यक्ति नै विद्यार्थी नेता हो भन्ने विद्यार्थी नेताप्रतिको मानक बदल्दै रचनात्मक एवम् सिर्जनात्मक आन्दोलनमार्फत काम गर्ने, पार्टी एवम् व्यक्तिवादी सोचबाट माथि उठेर समाज र राष्ट्रको लागि चिन्तन गर्ने, विद्यार्थीको हक हित सुनिश्चित गर्न आवाज उठाउने, विद्यार्थीको रचनात्मक क्षमता पहिल्याउने र त्यसको प्रस्फुटनका लागि सहयोग गर्ने, विद्यार्थी हक हितका लागि पैरवी गर्ने व्यक्तिको रूपमा विद्यार्थी नेताको परिचय स्थापित गर्न पनि अबको स्ववियुमा स्वतन्त्र नेतृत्व आवश्यक परेको छ ।
विश्वविद्यालय एक शैक्षिक धरोहर हो, सम्पदा हो, पाठशाला हो । कुनै राजनीति गर्ने पार्टीको धर्मशाला होइन । तसर्थ विश्वविद्यालयमा स्वतन्त्र शैक्षिक वातावरण निर्माण गर्न, व्यवहारिक शिक्षालाई प्रोत्साहन दिन, विभिन्न सामाजिक समस्याको खोजी गरी समाधानका लागि पहल गर्दै विभिन्न क्षेत्रको अनुसन्धान र आविष्कार गर्ने, गराउने विद्यार्थी पाठ्यक्रम अनुसार उद्यमशील बन्ने, बनाउने नेतृत्व गर्न सक्ने विद्यार्थी नेताको आजको समयमा आवश्यकता छ । यस अर्थमा पनि अब विश्वविद्यालयमा स्वतन्त्र नेतृत्वको आवश्यकता छ जो निस्वार्थ एवम् निष्पक्ष ढङ्गबाट विश्वविद्यालयको समग्र हितका लागि अग्रसर हुन सकोस्, काम गर्न सकोस् ।
यी र यस्ता विषयलाई मध्यनजर गर्दै अब विश्वविद्यालयलाई दलीय राजनीतिभन्दा माथि राख्दै क्याम्पस र विश्वविद्यालयमा सजिलै प्रवेश, समयमा परीक्षा र नियमित र समयमै परिणाम सार्वजनिक गर्ने कुरा मात्र होइन त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, केन्द्रीय विभाग र अन्य क्याम्पसहरूलाई नियमित र गुणस्तरीय अध्ययन अध्यापन, अनुसन्धान र प्राज्ञिक उन्नयनको अभ्यास गर्ने थलोका रूपमा विकास गर्नुपर्ने अवस्था छ ।
त्रिभुवन विश्वविद्यालयमा पनि वर्षौँदेखिका विविध समस्यालाई केलाउँदै त्यसको प्रभावकारी समाधानका उपायको चिन्तन गर्दै विश्वविद्यालयलाई वास्तवमै विश्वविद्यालय बनाउन हेतु स्वतन्त्र विद्यार्थी समूहले त्रिभुवन विश्वविद्यालयको स्ववियु चुनावमा आफ्नो उम्मेदवारी अगाडि बढाएको छ । विश्वविद्यालयमा प्रभावकारी वार्षिक शैक्षिक क्यालेन्डरको अभावका कारण देशभरका क्याम्पसमा समयमा परीक्षा नहुने, समयमा नतिजा पनि प्रकाशन नहुने, र विद्यार्थीहरूको शैक्षिक उन्नतिमा ढिलाइ हुने समस्यालाई मध्यनजर गर्दै विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर निर्माणका लागि, विश्वविद्यालयमा दलीय भागबन्डाको आधारमा हुने राजनीतिक नियुक्ति खारेज गरी कार्यक्षमता, कार्य दक्षताको आधारमा नियुक्ति गर्नुपर्ने माग आम विद्यार्थीको रहेको छ ।
विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा त्यहाँ अध्ययनरत दृष्टिविहीन तथा शारीरिक अशक्तता भएका विद्यार्थीको असहजताको समस्या कमग्न अपांगमैत्री सडक निर्माण गर्न, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्वास्थ्य बिमा कार्डको सहज व्यवस्था गर्न, विश्वविद्यालयमा Learning (सिकाइ) सँगै Earning (कमाइ)को वातावरण सिर्जना गर्न हरेक सङ्कायमा त्यस्ता खालका परियोजना ल्याउने वातावरण सृजना गर्न, विश्वविद्यालयको प्रयोगशालामा हुँदै आइरहेको आधारभूत सामग्रीको अभाव न्यूनीकरण तथा त्यसको नियमित उपलब्धता गराइराख्न, निःशुल्क थेसिस गाइडलाइन कार्यक्रमको माध्यमबाट विद्यार्थीलाई उचित दिशा निर्देश गर्ने काम हुनुपर्दछ ।
त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म लैङ्गिक हिंसा विरुद्धको नीति सार्वजनिक गरेको छैन । विश्वविद्यालयमा अध्ययनदेखि शोधपत्रका क्रममा हुने गरेको भनेर पटक पटक सार्वजनिक हुने लैङ्गिक हिंसा रोकथामका समस्या कम गर्न लैङ्गिक हिंसा विरुद्धको नीतिको निर्माणमा जोड दिने प्रतिबद्धता आउनै पर्दछ । विश्वविद्यालयमा अनुसन्धानमा आधारित सिकाइको वातावरण सिर्जना गर्न विश्वविद्यालयमा अनुसन्धान केन्द्रको निर्माणका लागि सहजीकरण गर्ने, हरेक सङ्कायमा आधारभूत खेलकुद सामग्रीको उपलब्धता गराउनेलगायत प्रतिबद्धता जनाउँदै स्वतन्त्र विद्यार्थी समूह स्ववियु निर्वाचनमा सहभागी हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट प्राप्त गर्नुपर्ने शैक्षिक प्रमाणपत्र लगायत कागजात सहज र सुलभ रूपमा उपलब्ध गराउन पनिकाको सेवालाई विकेन्द्रित गरी कम्तीमा प्रदेशगत रूपमा व्यवस्था गराउनुपर्ने अर्को आवश्यकता हो । विश्वविद्यालयमा डिजिटल भुक्तानीको वातावरण सृजना गर्ने, इ–लाइब्रेरीको पहुँच सबैमा पुर्याउन तालिम तथा अनुसन्धानात्मक क्रियाकलापमा जोड दिने, विश्वविद्यालयका सम्पूर्ण सङ्कायमा पार्किङको व्यवस्था गर्ने लगायतका विश्वविद्यालयमा विद्यमान अन्य विविध समस्या केलाउँदै त्यसको समाधानका पक्ष अगाडि राख्दै स्वतन्त्र विद्यार्थी समूह स्ववियु निर्वाचनमा होमिएको छ । विश्वविद्यालयलाई अब साँच्चिकै विश्वविद्यालय बनाउन अब दलीय राजनीतिभन्दा माथि रहेर निष्पक्ष रूपमा कार्य गर्न सक्ने स्वतन्त्र नेतृत्व आवश्यके छ । यस अर्थमा पनि अबको स्ववियु निर्वाचनमा स्वतन्त्र विद्यार्थीको समूह विजयी हुन आवश्यक छ । कुनै दलको भातृ सङ्गठनले होइन स्वतन्त्र विद्यार्थीले स्ववियुको निर्वाचनमा जित हात पारे मात्र विश्वविद्यालयमा स्वतन्त्र शैक्षिक वातावरण सृजना हुन सक्छ । तब मात्र विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन सार्थक हुन सक्छ । यसले तमाम विद्यार्थीका आशा सम्बोधन गर्न सक्छ ।
एउटा विद्यार्थी देशको वर्तमान र भविष्य बोकेको शिक्षित नागरिक हो । जसले आफ्नो घर, टोल, समाज हुँदै समग्र राष्ट्रलाई परिवर्तन गर्न अग्र पङ्क्तिमा रहेर काम गर्न सक्दछ । उक्त विद्यार्थी शक्तिलाई सही मार्गमा दिशा निर्देश गर्न सके पक्कै पनि विश्वविद्यालय एवम् समाज र राष्ट्रलाई आवश्यक एक कुशल नेतृत्व तयार हुन सक्दछ । वर्तमान परिस्थितिमा राष्ट्रिय राजनीति विकृत भइरहँदा क्याम्पस, विश्वविद्यालयमा सही नेतृत्व आउन आवश्यक छ ताकि आजको नेतृत्वले भोलिको राष्ट्रिय राजनीतिलाई सही दिशा प्राप्त हुन सकोस् ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९, १४:३७