काठमाडाैँ । नेपालले क्रिकेटको एक दिवसीय मान्यता जोगाएको छ । विश्वकप क्रिकेट लिग टू अन्तर्गत आज यूएईलाई १७७ रनले हराएसँगै नेपालको एकदिवसीय मान्यता जोगिएको हो । नेपालले सन् २०१८ मा पहिलोपटक एकदिवसीय मान्यता पाएको हो । अब थप चार वर्षका लागि नेपालले एकदिवसीय टिमको मान्यता कायमै रहनेछ ।
२४९ रनको लक्ष्य पाएको यूएईलाई २३ औँ ओभरमा मात्र ७१ रनमा अलआउट गर्दै नेपाल विजयी भएको हो । यो एकदिवसीय क्रिकेटमा नेपालले हात पारेको अहिलेसम्मकै फराकिलो जित हो । यूएईलाई कम योगफलमा समेट्न नेपालका ललितनारायण राजवंशीले ५ विकेट लिनुभयो । उहाँले ७ ओभर २ बल बलिङ गर्दै २ मेडन राख्दै मात्र २० रन खर्चेर ५ विकेट लिनुभयो ।
यस्तै, सन्दीप लामिछानेले २ तथा साेमपाल कामी, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले एक एक विकेट लिनुभयो ।
कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको नेपाल खलेको ४ बल बाँकी हुँदै २४८ रनमा अलआउट भएकाे थियो । नेपालका कप्तान रोहितकुमार पाैडेलले सबैभन्दा धेरै ७७ रन बनाउनुभयो । त्यस्तै आरिफ सेखले ४३, गुल्सन झाले ३७, दिपेन्द्रसिंह एेरीले ३४ र भीम सार्कीले २९ रन बनाउनुभयो ।
खराब सुरूवात गर्दै नेपालले २२ रन बनाउँदा ३ विकेट गुमाएको थियो । तर, मध्यक्रममा कप्तान रोहितले भीम र आरिफसँग राम्रो साझेदारी गरेपछि नेपालको योगफल सम्मानजनक बनेको हो । रोहित र भीमले चाैथाे विकेटका लागि ५५ रन तथा पाँचाै विकेटका लागि ८६ रनको साझेदारी गर्नुभयो । रोहितले ११२ बल खेल्दै ९ चाैकासहित ७७ रन बनाउनुभयो।
दिपेन्द्रले विष्फोटक ब्याटिङ गर्दै १९ बलमा ३ चाैका र २ छक्कासहित ३४ रन बनाउनुभयो । ३२ बल खेलेका गुल्सनले ३ छक्का र १ चाैकासहित ३७ रन बनाउनुभयो ।
नेपालले शृंखलाको अर्को खेलमा भोली पीएनजीसँग खेल्नेछ ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९, १५:०२