नेपाल प्रज्ञा प्रतिष्ठान भाषा, साहित्य र कलाको संरक्षण तथा विकासका लागि सर्वोच्च निकाय हो । तर प्रज्ञा प्रतिष्ठानले त्यसअनुसारको काम गर्न नसकेको भनेर प्रश्न उठ्ने गरेका छन् । यस्तै आलोचना र प्रश्नका बिच प्रतिष्ठानले भर्खरै नयाँ नेतृत्व पाएको छ । सत्ताको नेतृत्वकर्ता दल र विभागीय मन्त्री निकट समुदाय र भूगोलका धेरै व्यक्ति कुलपतिसहित प्राज्ञ बनाइएको कतिपयले विरोध पनि गरे । नवनियुक्त कुलपति भूपाल राईसँग साथी राजन रुचालले प्रज्ञा प्रतिष्ठानको नेतृत्व र नेपालको भाषा साहित्यको विकासबारेमा गर्नुभएको कुराकानी–
तपाईँले प्रज्ञा प्रतिष्ठानको नेतृत्व सम्हाल्दै गर्दा, खास समुदाय र भूगोल हाबी भयो भनेर सामाजिक सञ्जालमा गरिएका टिप्पणीबारे तपाईँको प्रतिक्रिया के छ ?
सामाजिक सञ्जालमा आएको आलोचना र प्रश्नको जवाफ सामाजिक सञ्जालबाटै सबैले पाई सक्नुभएको छ । त्यही भएर मैले जवाफ दिई रहनुपर्छ भन्ने लाग्दैन । कतिपयलाई नबुझेर पनि टिका टिप्पणी गर्नुभएको छ । प्राज्ञ सभामा जम्मा ३५ जना हुन्छन् । तीमध्ये २१ जना मलाई आक्षेप लगाउने समूहका नै हुनुहुन्छ । राई समुदायका प्राज्ञ सदस्य जम्मा चार जना छन् । ११ जनाको परिषद्मा दुई जना राई छन् । अब प्रज्ञामा राई करण भयो भनेर भन्नेले यही तथ्याङ्कबाट जवाफ पाए होलान् ।
तपाई आफैँ पनि कवि, भाषा साहित्यमा दखल भएको व्यक्ति कुलपतिको रूपमा के के काम गर्नुहुन्छ ?
मसँग केही महत्त्वपूर्ण योजना छन् । यो संस्था भनेको चाहिँ देशको सबै भाषा, साहित्य, संस्कृति, समाजशास्त्र, दर्शन, कला इत्यादिको संरक्षण, विकास र प्रवर्द्धन गर्ने सर्वोच्च थलो हो । त्यही हिसाबले मैले काम गर्नु छ ।
यसअघि चाहिँ कुनै खास भाषाको उत्थानमा मात्रै प्रतिष्ठान केन्द्रित भयो भन्ने आक्षेप लाग्ने गर्थ्यो, तपाईँको कार्यकालमा फरक महसुस गर्न पाइन्छ ?
मेरो योजना नै त्यही हो । अहिलेसम्म प्रज्ञा एकल भाषी भयो भन्ने थियो, तर म यहाँ प्रवेश गरेकै दिनदेखि एउटा नारा बनाएको छु, ‘सबैको एकेडेमी’ । त्यो नाराभित्रै सबै कुरा समेटिन्छ । म प्रज्ञा प्रतिष्ठानमा चार वर्षका लागि आएको छु । यस अवधिमा मैले सबै भाषाको त सक्दिन तर अहिलेसम्म नअटाएका भाषाको काममा चाहिँ साङ्केतिक रूपमा भए पनि काम गर्छु । प्रतिष्ठानमा बढी चाहिँ खस नेपाली भाषाकै कुरा भएको छ, काम भएको छ । त्यस कारण पनि अरू भाषाको काम गर्नु पर्नेछ ।
काम चाहिँ कसरी गर्नुहुन्छ ?
१ सय २३ भाषासँग सम्बन्धित व्यक्तिहरूलाई म आह्वान गर्छु, योजना दिन्छु । मर्न लागेको भाषालाई विज्ञ र भाषा शास्त्री राखेर कसरी बचाउने भनेर काम गर्छु । मैले पहिलो प्राथमिकतामा राखेर गर्ने काम भनेको भाषाकै हो ।
लोप हुन लागेको भनिएका भाषा संरक्षणको लागि एक वर्षभित्र सम्बन्धित भाषाका किताबहरू कति निकाल्नुहुन्छ ?
यो खालको अध्ययनका लागि विज्ञ र बजेट चाहिन्छ । यिनै दुई वटा कुराको उपलब्धता अनुसार मैले काम गर्ने हो । कम्तीमा एक वर्षमा चार वटा भाषाको काम गर्न सकियो भने पनि कार्यकाल भित्रमा १६ वटा भाषामा काम गर्न सकिन्छ । मेरो कार्यकालमा लोप हुन लागेका भाषा संरक्षणका लागि विशेष काम हुनेछ ।
नेपाली खस भाषाकै पनि व्याकरण र शब्दकोशमा भाषाविद्हरूको बिचमा विवाद छ, त्यसमा चाहिँ कसरी काम गर्नुहुन्छ ?
यो मेरो दोस्रो योजना भित्र पर्छ । एकेडेमीले तयार गरेको बृहत् शब्दकोशलाई परिमार्जन गर्न आवश्यक छ । भाषा शास्त्रीको साथ सहयोग लिएर हामी त्यो काम गर्नेछौँ । बृहत् नेपाली शब्दकोशले सबै समुदायको सम्मानजनक प्रतिनिधित्व गरेको छ त ? सबै समुदाय शब्दकोशको व्याख्यामा सम्मानित छन् त ? छैनन्, त्यसका लागि मेरो काम शब्दकोशको परिमार्जन गर्ने हुनेछ । हरेकसँग सुझाव मागेर शब्दकोशमा उनीहरूको असन्तुष्टि के हो त भनेर बुझेर मात्रै हामी काम गर्नेछौँ ।
त्यसरी शब्दकोश परिमार्जन गर्न सजिलो होला र ?
गलत कुरालाई चलाउनुपर्छ । कतिपय कुरालाई बनाउनका लागि भत्काउनुपर्छ । विवादित भएका विषयलाई यसै छोड्नुहुन्न । गलत तरिकाले गरिएका कुरालाई त भत्काउनै पर्छ । मानक जोगाउने कुरामा सचेत भइन्छ । पारिभाषिक अर्थलाई कम विवादित बनाउने हो । त्यसो गर्दा आम मानिसहरूले राम्रो महसुस गर्नेछन् ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९, १९:१८