काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको विदाइ आज हुँदैछ ।
राष्ट्रपति भवन शीतल निवासमा सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराउनुहुनेछ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित हुँदा एमाले उपाध्यक्ष सुवास नेम्वाङ भने पराजित हुनुभएको थियो ।
शपथसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले पौडेललाई राष्ट्रपतिको आसन हस्तान्तरण गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नवनिर्वाचित राष्ट्रपति पौडेललाई स्वागत गरेसँगै भण्डारीको विदाइ हुनेछ ।
भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार आज पद हस्तान्तरणसँगै निवास छोड्ने तयारी भएको छ ।
काठमाडौँको बुढानीलकण्ठमा निवास मर्मतको काम नसकिएका कारण केही दिन निवर्तमान राष्ट्रपति भण्डारी छोरीको घरमा रहनुहुने भएको छ ।
नवनिर्वाचित राष्ट्रपतिको स्वागत र निवर्तमान राष्ट्रपतिको विदाइका लागि शीतल निवासमा आज करिब ५ सय व्यक्तिको सहभागिता रहने भएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९, ०९:०८