काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा सोमबार राष्ट्रपति पौडेलले शपथ लिनुभएको हो। पाैडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ ग्रहण गराउनुभएको हो ।
पौडेल गत फागुन २५ गते बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो। पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गर्नुभएको थियो ।
उहाँलाई नेपाली सेनाको एक टुकडीले सलामी दिनुका साथै टुँडिखेलबाट २१ तोपको सलामी अर्पण गरिएको थियो । यसैगरी निःवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाईका क्रममा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको छ। उहाँलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाईका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको छ ।
साथै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आजै शितल निवासबाट बाहिरिनुभएको छ । उहाँ बुढानिलकण्ठस्थित निवासमा सर्नुहुनेछ ।
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९, १३:२९