काठमाडौँ। आगामी चैत ३ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ ।
मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ ।
उपराष्ट्रपतिमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा), जसपाका प्रमिला कुमारी, रामसहायप्रसाद यादव र जनमत पार्टीका ममता झाले उम्मेदवारी दिनु भएको थियो । प्रमिला कुमारीले आफ्नो समर्थन यादवलाई रहने घोषणा गरिसक्नुभएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९, १४:०९