पाल्पा । पाल्पा दरबार परिसरका अव्यवस्थित घर टहरा हटाइने भएको छ । पाल्पा दरबार सङ्ग्रहालय क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउन त्यस क्षेत्रमा रहेका अव्यवस्थित घर टहरा हटाइने भएको हो । तानसेन नगरपालिकाले पुरातत्त्व विभागको निर्देशन र स्थानीय सरोकारवालाको सुझावका आधारमा दरबार परिसरमा रहेका ५७ वटा घर टहरा हटाउने निर्णय गरेको हो ।
ऐतिहासिक नगरी ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक धरोहरका रूपमा रहेका तानसेनको मूल ढोका, पाल्पा दरबार, भगवती स्थान क्षेत्रलाई संरक्षण गर्दै पर्यटकीय नगरी बनाउन पुराना अव्यवस्थित घर टहरा हटाउन लागिएको नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिनुभयो ।
नगर कार्यपालिकाको बैठकले नगरपालिकासँग गरिएका सटर बहाल सम्बन्धी सम्झौता रद्द गर्ने, अन्य सङ्घसंस्था सरकारी निकायलाई सटरमा रहेका बहालवालालाई हटाउन पत्राचार गर्ने समेत निर्णय गरेको उहाँले बताउनुभयो ।
यसअघि पनि पटक पटक मक्खन टोल क्षेत्रका अव्यवस्थित घर टहरा हटाउनेबारे चर्चा भएको थियो । वडा नम्बर ४ मा तानसेन नगरपालिकाकाकै नाममा रहेका १३ वटा घर टहरा सहित, घरेलु शिल्पकलाका १३, रेडक्रसका ३, कर्मचारी मिलन केन्द्रका ३, बाल सङ्गठनको १ र २००२ देखी २०२२ सालसम्म राणाहरूले अर्को व्यवस्थापन नभएसम्मको लागि भन्दै दिएका २४ वटा घर टहरा हटाउन लागिएको हो ।
तानसेनमा रहेको पाल्पा दरबार सङ्ग्राहलयलाई विश्व सम्पदा सूचीमा राख्ने योजनासहित बजेट विनियोजन तथा विकासको योजना अगाडि सारिएको हो । कतिपय नागरिकले भने यो निर्णयको विरोध गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९, १७:४२