विराटनगर । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव) कोशी प्रदेशको पहिलो साधारण सभा तथा प्रदेश भेला ७ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । विराटनगरमा सम्पन्न साधारण सभाले सामुदायिक रेडियोको दिगोपनाका लागि प्रसारकहरू एक भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।
रेडियोको दिगोपना र क्षमता विकासका लागि सरकार र सरोकारवालासँग समन्वय गर्ने, प्रदेश सरकारलाई लोक कल्याणकारी विज्ञापनको नीति ल्याउन र सामुदायिक रेडियोलाई उपलब्ध गराउने सहयोगलाई निरन्तरता दिन माग गर्ने, समुदायको आवाजका रूपमा सामुदायिक रेडियोलाई विकास गर्ने, रेडियो नवीकरणलाई सम्बन्धित जिल्लामा नै नवीकरण गर्ने व्यवस्था मिलाउन सरकार समक्ष अनुरोध गर्ने, प्रादेशिक सामुदायिक प्रसारणको अवधारणा ल्याउने र त्यो प्रसारणमा सबै सामुदायिक रेडियो समेट्ने लगायतका विषय विराटनगर घोषणापत्रमा समेटिएको अकोरावका प्रदेश सचिव पूर्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घका केन्द्रीय अध्यक्ष अर्जुन गिरीले राज्यले सामुदायिक रेडियोलाई विभेदपूर्ण व्यवहार गर्न नहुने बताउनुभयो । तीनै तहका सरकारले सामुदायिक रेडियो सञ्चालनमा सहयोग गर्नुको सट्टा नियमन गर्ने नीति ल्याउने जमर्को गरेको भन्दै रेडियो सञ्चालहरूले त्यसका विरुद्ध आवाज उठाउनुपर्ने अध्यक्ष गिरीले बताउनुभयो । अकोरावले रेडियोका समस्या समाधानका लागि नीतिगत पहल गरिरहेको उहाँको भनाई थियो ।
सङ्घ कोशी प्रदेशका अध्यक्ष विदुर खवासले प्रदेश सरकारसँगको सहकार्यमा रेडियोकर्मी र रेडियोमा कार्यरत प्राविधिकहरूको क्षमता अभिवृद्धिका कार्यक्रम ल्याउने तयारी भइरहेको बताउनुभयो ।
कार्यक्रम सामुदायिक रेडियो प्रसारक सङ्घका केन्द्रीय अध्यक्ष अर्जुन गिरी, केन्द्रीय उपाध्यक्ष तथा नेपाल सरकार विज्ञापन वाेर्डका सदस्य बन्दना दनुवार, पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष लिलावल्लभ घिमिरे, पत्रकार महासङ्घ कोशी प्रदेशका संस्थापक अध्यक्ष विक्रम लुइँटेल , विज्ञापन वर्डका सदस्य पवन अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारण सभामा कोशी प्रदेश भरका सामुदायिक रेडियोका सञ्चालक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
साधारण सभा अघि लैङ्गिक समानताका लागि सामुदायिक रेडियो विषयक कार्यशाला पनि सम्पन्न भएको थियो । कार्यशालामा लैङ्गिक समानताका लागि सामुदायिक रेडियोले खेलेको भूमिका र रेडियोमा बज्ने हरेक सामाग्रीमा लैङ्गिक समानताका विषयमा प्रस्तुत गरिएका सामग्रीका विषयमा छलफल गरिएको थियो । कार्यशालाको आयोजना र व्यवस्थापन रेडियो उदयपुरले गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९, १८:२१