काठमाडाैँ । विश्वकप क्रिकेट लिग-टूको आफ्नो अन्तिम खेलमा नेपाल युएईसँग खेलिरहेकाे छ । कीर्तिपुरमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपाल पहिले बलिङ गरिररहेको छ ।
नेपालले दोस्रो सफलता हात पारेको छ । सन्दीप लामिछानेको बेलमा यूएईका आक्रामक ब्याटर मोहम्मद वासिम आउट हुनुभयो । उहाँले ४७ बलमा ६३ रन बनाउनुभएको थियो । १७ ओभरको खेल चल्दै गर्दा यूएईले २ विकेट गुमाएर ९८ रन बनाएको छ ।
आज नेपालले टोलीमा एक परिवर्तन गर्दै करण केसीको ठाउँमा गुलशन झालाई खेलाइएको छ ।
पहिलो विकेट ललित राजवंशीले तेस्रो ओभरमा लिनुभएको थियो । उहाँले यूएईका आर्यन लाक्रालाई ६ रनमा आउट गर्नुभयो ।
नेपालले आज युएईलाई पराजित गर्न सके आउँदो जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा खेल्न पाउनेछ। पराजित भएमा यसै महिनाकाे अन्तिममा नामिबियामा हुने क्वालिफायर प्ले अफ खेल्नुपर्ने छ । नेपाल ३५ खेलमा ३८ अङ्कसहित चौथो स्थानमा छ । नामिबिया ३६ खेलमा ३९ अङ्कका साथ तेस्रो स्थानमा छ। आजको खेल नतिजाविहीन भए नेपाल र नामिबिया दुवैको ३९–३९ अंक हुनेछ। जित प्रतिशतका आधारमा नामिबिया विश्वकप छनोट खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९, १०:५२