काठमाडाैँ । विश्वकप क्रिकेट लिग-टूको आफ्नो अन्तिम खेलमा युएईले दिएको ३११ रनको ठूलो लक्ष्य पछ्याएको नेपालले ब्याटिङमा खराब सुरुवात गरेको छ । नेपालका कुशल मल्ल ५ र आसिफ शेख शुन्य रनमा आउट हुनुभयो ।
कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले आसिफ खानले आक्रामक ब्याटिङ मद्दतमा ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । खानले नटआउट १०१ रन बनाउनुभयो । उहाँले मात्र ४१ बलमा सतक पूरा गर्नुभएको थियो । जम्मा ४२ बल खेल्दै खानले ११ छक्का र ४ चाैकासहित १०१ रनमा अविजित रहनुभयो ।
यस्तै वृत्य अरबिन्दले ९४ र कप्तान माेहम्मद वासिमले ६३ रन बनाउनुभयो । आक्रामक ब्याटिङ गर्दै वासिमले ४९ बलमा २ चाैका र ६ छक्का प्रहार गर्नुभयो ।
नेपालका दिपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिनुभयो ।
१० ओभर बलिङ गर्नुभएका सन्दीपले ८० रन खर्चनुभयो । यस्तै सोमपालले ९ ओभरमा ७४, गुल्सन झाले ८ ओभरमा ६३ रन खर्चनु भयो । सबैभन्दा किफायति बलिङ गर्नुभएका दिपेन्द्रले ८ ओभरमा १९ तथा लतिलतले १० ओभरमा ३६ रन खर्चनुभयो ।
खेलको तेस्रो ओभरमा १९ रन हुँदा ललितले विकेट लिँदै यूएईलाई दबाबमा राख्ने कोशिस गरे पनि यूएईले आक्रामक ब्याटिङ गर्यो । दिपेन्द्र र ललितबाहेक अन्य बलरको बलिङ महंगो साबित भयो ।
नेपालले आज युएईलाई पराजित गर्न सके आउँदो जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा खेल्न पाउनेछ। पराजित भएमा यसै महिनाकाे अन्तिममा नामिबियामा हुने क्वालिफायर प्ले अफ खेल्नुपर्ने छ । नेपाल ३५ खेलमा ३८ अङ्कसहित चौथो स्थानमा छ । नामिबिया ३६ खेलमा ३९ अङ्कका साथ तेस्रो स्थानमा छ। आजको खेल नतिजाविहीन भए नेपाल र नामिबिया दुवैको ३९–३९ अंक हुनेछ। जित प्रतिशतका आधारमा नामिबिया विश्वकप छनोट खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९, १४:०२