सबै प्राणीमा उमेरअनुसार गतिविधि हुन्छन् । हरेक प्राणीका वयस्कले केटाकेटी र हुर्काउने उमेर समूहलाई नै सबैभन्दा बढी हेरविचार गर्ने हो ।
अरू उमेर समूह त स्वतन्त्रतापूर्वक आफ्नो ख्याल आफैँ राख्ने गर्नुपर्छ । मानिसमा पाको उमेरकालाई पनि मानवीय संवेदनशीलताको कारण राम्ररी ध्यान पुर्याउनु पर्ने हुन्छ ।
सबै कालखण्डमा मानिसले गर्नुपर्ने हरेक उमेर समूहको जगेर्ना गरेको देखिँदैन र पछिल्लो समय व्यक्तिवादको चपेटामा परिवार विखण्डनले पनि अप्ठ्यारोमा पारेको छ ।
अहिले समग्रमा पाका उमेर समूहका मानव समाजका सबैभन्दा मानिला मान्छे नै सबैभन्दा बहिस्कारमा परेझैँ देखिन थालेका छन् ।
बिगतमा अनुभव र योगदान
आजका पाका मान्छे हिजो विभिन्न कामका लागि अहिलेजस्तो भौतिक विकास नभएको अवस्थामा आफ्नै दस नङ्ग्रा खियाएर सकेको आर्जन गर्न, परिवारको भरण पोषण र उन्नतिमा लागेका हुन् ।
विकसित भनिएका मुलुकमा सोह्राैँ शताब्दी पछि नभोगेको सामाजिक परिस्थिति नेपालकाले बिसौँ शताव्दीसम्म कुस्त भोगेका हुन् । अझै रहलपहल देशका कुनाकन्दरामा भोग्दै छन् ।
सहर बजारतिर भौतिक उन्नतिका बखितमका लहरले आधुनिकताको एकल परिवारको कहर चले पनि गाउँघरतिर बाँकी बक्यौता लाज हुने चलन रहेकाले ग्रामीण क्षेत्र अझैँ पाका मान्छेका लागि आशाका ठाउँ बनेका छन् ।
जोरीपारी र जुठो लाग्ने परिवारमा अझैँ कसैले व्यवहारमा गरेका ठीकबेठिक निर्धक्क भन्ने गाउँले स्वभाव गाउँतिर पाइन्छ भने सहरतिर ओल्लो घर पल्लो घर त बोलचाल नहुने स्थितिमा घरभित्र पाका मान्छेसँग हुने दुर्व्यवहार गुम्सिएको भेटिन्छ ।
तराईको केही भागबाहेक नेपालमा पिँढीबाट खसे आँगनमा र आँगनबाट लडे बारीमा पुगिनु सामान्य हो । हिजो विद्यालय जान होस् वा मेलापात, दाउराघाँस गर्न जाँदा होस् उकालीओराली नगरी सुखै पाइन्नथ्यो ।
झार जङ्गल नजिक भए पनि दैनिक पानीको आपूर्ति, चाहिने वार्षिक लुगाफाटो, मरमसला किन्ने ठाउँ र सरकारी कामकाज सल्टाउन टाढाको बाटो उकालीओराली र जँघार तरेर नै आइजाइ हुन्थ्यो ।
त्यसैले त्यतिखेर शारीरिक श्रम र बर्कत नै हरेकका खुबी र हैसियत बन्न पुगे, हो त्यसैमा रङ्गमंगीएर नै आजका पाका मान्छे बनेका छन् ।
यस्तै कठिन अनुभवको द्योतकको रूपमा ‘धेरै घामपानी खपेर कपाल फुलेको !
र कति वटा भोटो फटाएको छ ? हेर्नु, गन्नु अनि कुरा गर्नु’ भन्ने उखान चलेको होला ।
त्यस्ता खाले लोकोक्ति पाका मान्छेको अनुभवलाई मान गर्नकै लागि चलेका होलान् । हिजोआज बाटोघाटो र सहरीकरणले धेरै सुविधा पैसा हुनेका लागि नजिक आएका छन् । कम आय भएका र न्यूनबर्गका लागि त छारोले पुरिने मात्र उद्यम भएको छ ।
श्रमको मात्र त्यस्तो बेजोड मूल्य हुने कालखण्डमा आजका पाका मान्छेले जीउको क्षमतालाई सिन्को बराबर भाउ नराखी उपलव्धि र आर्जनका लागि ह्याकुलाले पेलेर काम गरेकै हुनुपर्छ ।
त्यसैले त ‘घुँडा धसेर काम गरिन्थ्यो, परिवारका लागि नाइँ भनिएन, कुलको नाक काटिने भन्ने कुनै काम गरिएन’ भन्ने अनुभव पनि दोहोर्याउँछन् अनुकूल पर्दा ।
‘कति रात नसुती काम गरी फत्ते गरेको, बाआमाले भनेपछि कति दिन हिँडेर कहाँ पुगेको !’ यस्ता कुरा पाका मान्छेले भनिरहने अतिरिक्त उपाधि जस्ता अनुभवका बिटा हुन् ।
अहिलेका वयस्क र किशोरकिशोरीले सुनेर सके मनन गर्ने हो र त्यसबाट सकिन्छ भने ‘कस्तो रोग व्याध बल्झेको होला ?’ भनी हेरविचारमा पुर्याउने हो ।
आफूले गर्न नपरेकाले सुन्न नचाहनु र सुने पनि नाक खुम्च्याउने काम गर्नुले घरमा बसेर जगको खिसीटिउरी गरी भत्काउन खोजेजस्तो भएन र ?
पाका मान्छे त्यस परिवारको जग होइनन् र ? पाका नभएका भए अरू कसरी हुन्थे र ?
समस्या र समाधान
लुकुवा गाई भैँसीले दूध लुकाएझैँ त्यत्तिखेरका घरका मानिलाको सरसल्लाह र आदेश साञ्चै तामेली गर्ने अहिलेका पाका मान्छे ज्यान नसाँची लागि परेकैले परिवारको वर्तमान अवस्था आइपुगेको हो ।
यस कुरालाई अहिलेका पारिवारिक हालीमुहाली गर्नेले मात्र बुझे पनि पुग्छ र आफ्नो अवस्था अप्ठ्यारो परेकोमा कृतज्ञता प्रकट नगरे पनि मुख नफर्काए पुग्छ ।
एकातिर भौतिक सुविधाको कमि अर्कोतिर पारिवारिक इज्जतका लागि ठूलाबडा र घर मुलीको आहोटमा आफ्नो भविष्य उज्ज्वल देखी भनेअनुसार गरेकाले आजका पाका मान्छेले आफूखुसी केही गरेनन् ।
समूह र मान्यजनको वचन नाघेनन् । बरु आफ्ना चाहाना र गुणलाई दबाएर राखे, व्यक्ति स्वार्थ टिम्कन दिएनन् । त्याग गर्नु नै आदर्श माने र अरूको मान, आदर, सत्कार गर्ने तथा नम्रता नै आफ्ना स्वभाव बनाए ।
‘म’ भन्दा ‘हामी’लाई प्राथमिकतामा राखे र आफ्ना हरेक गतिविधिमा परिवार र वंशको इज्जत बढाउनेतिर ध्यान दिए ।
सक्नेले त देशलाई अन्तर्हृदयमा राखी नाम कमाए, देशले क्षतिपूर्ति गर्ने प्रावधान नभए पनि । मानिसले जीवनमा त्यतिभन्दा कति बढी त्याग गर्न सक्ला ? सबै गरे ।
परम्परा र इज्जत धान्ने धामाले अहिलेका पाका मान्छे विभिन्न रोगले ग्रसित भएका पनि हुन सक्छन् । बेलामा आफू मात्र साख हुने काम नगरेकाले कमजोर भएका पनि होलान्, शारीरिक कमजोरी उमारिँदा हुने पनि स्वाभाविक हो ।
एक त रुखासुखामा हुर्केको ज्यान त्यसमाथि उमेरको चाप अनि ‘आधुनिकताले उमारेका’ नयाँनयाँ रोग ! पाका मान्छेलाई थला पार्न के चाहियो र ?
जानीनजानी गरेका कामले यति जटिल शारीरिक संरचना बनाएको छ कि अहिलेका पाका मान्छे अनुसन्धान गरिनु योग्य जिनिस बनेका छन् ।
कुनै एक लक्षण सबै रोगका कारक भएका भेटिन्छन् भने उपचार कताबाट सुरु गर्ने भन्ने नै द्विविधामा चिकित्सक पर्न सक्छन् । त्यसैले त एकीकृत चिकित्सा विधिको अवधारणा अचेल सुनिन्छ ।
पाका मान्छे आफैँ पनि कतिपय मामिलामा ‘अब जाने दिन आए’ भन्दै नीच मारेर रोग व्याध खुट्ट्याउने जाँगर गर्दैनन् । त्यस खालका स्वभाव भएका महिला र पुरुषलाई घरका बोलवालाले पनि ‘एकसरी भए पो, के के हो के के, बुझ्नै गाह्रो’ भनी चिकित्सकसम्म पनि पुर्याउन खोज्दैनन् ।
पुर्याईहालेमा पाका मान्छेलाई बोल्न दिनुअघि सबै जानकारी दिनु साटो नाना भाँती आफैँ कच्चा वैद्यझैँ उड्कन थाल्दछन् ।
अनि चिकित्सकले परिवारको जिम्मेवारसँग ‘एकान्त गरौँ एक छिन’ भनी उपचारको मोलमोलाइ गर्न पाका मान्छेबाट अलग्याउँछ र केके न अजङको रोग लागेको आशङ्कामा पाकालाई झन् अत्त्याउने पार्छन् ।
अनि के चाहियो ? ‘दिन गए, दिन गए’ भन्दै पाका मान्छे, भएको अवस्थामा अझै ह्रास आउने गरी चिन्ता र मरिने भयले आत्तिन थाल्छ । ९० वर्ष नाघेकाले पनि ‘अकालमै मरिन्छ कि क्या हो ? अल्पायुमै जाने भएँ’ भनी रोलो गर्न थाल्दछन् ।
यस्तै बिना सित्तीको चिन्ताले कति पाका मान्छे ‘नौ नाडी गलाएर’ ओछ्यानमा लम्पट कस्छन् । यस्ता सबै क्रियाकलाप बाँचुन्जेल खुसी भएर बाँच्नुपर्छ भन्ने शाश्वत सत्यभन्दा धेरै टाढाको कुरा हो ।
हिजो जेजस्तो भए पनि अब सन्तुलित जीवन जिउन के ले रोक्छ ? अरूले नरोके सकेसम्म पाका मान्छेले दैनिक कामकाज, खानपान, हिँडडुल नियमित र अड्कलेर गर्नुपर्छ ।
उमारिँदा गरिएको नियमितता र अड्कले अबको जीवन थप समस्या नथपिई सुखमय बन्न सक्छ । कतिपय पाका मान्छे अझै पनि बैँशमाझैँ देखेको सबै काम आफैँ ओगटेर फत्ते गर्न खोज्छन् ।
यो त सर्वथा बेठिक पनि हो, अहिलेको अवस्थामा पाका मान्छेले ज्ञान र क्षमता पुस्तान्तरण गर्ने बेला हो । हो, सके आफू अघि बसेर बाटो देखाउने र भए नभएकोमा सल्लाह दिएर सघाउने हो ।
आफैँ कन्दनी छिन्ने गरी, मुन्टो अररीने र गरी, धनु झैँ दोब्रिएर मानसिक र शारीरिक श्रम गर्ने बेला अहिले होइन भन्ने त पाका मान्छेले बुझ्नै पर्छ । रिले दौडमा जिनिस हात पर्ने पहिलोले जिनिस लिएर दौड पुरा गर्दैन बरु आफू अघि पर्खेर तयारी भएकालाई दिँदै जान्छ ।
आफूजस्तै अघिल्लो साथी पनि सतर्क र फुर्तिलो भए दौडको जीत त्यही समूहको हातमा पर्छ । पाका मान्छे हरेक परिवारका शुभ कामका सुरुवाती महत्त्वपूर्ण सदस्य हुन, धामा पुरा गर्ने जिम्मा अरूलाई दिँदा पो घरको प्रगतिको दौड सफलतामा टुङ्गिन्छ ।
गर्नै पर्ने
पाका मान्छेले अहिले गर्नु पर्ने केही काम छन् । सक्षम शारीरिक अवस्था रहेमा पाइन्छ भने गरिरहेकै काम उमेरिएको कारणले अलि कम गति र दरमा गरिरहनुनै राम्रो हुन्छ ।
शारीरिक अवस्था खस्केको छ भने काम घटाउनु र गरेका काम गुणयुक्त कायम राख्नु प्रमुख कुरा हुन आउँछ ।
जति सकिन्छ राम्रो होस्, ‘अब नसक्ने भएछन् फलाना वा फलानी’भन्ने नहोस् ।
काम सोही क्षमता र सीपको पाइन्न भने आफ्नै वासस्थानमा वा वरपर उस्तै प्रकृतिका काम खोजेर सक्ने जिम्मा लिनु आफ्नो मर्यादा कायम राख्नु हुन्छ ।
त्यसो भए ‘थोरै गर्छन् तर गुणमा सम्झौता छैन’ भन्ने सुनाम भई रहन्छ । घरमा पनि पाका मान्छेप्रति भरोसा कायम रहन्छ र ‘बा वा आमालाई जिम्मा दिएपछि ढुक्क हुन सकिन्छ’ भन्ने परिरहन्छ ।
त्यो उमेरमा परिवारले भरोसा गर्नु भनेको डिग्री पाएपछि पुरस्कार थपिएको आनन्द हो ।
विशेष केही सीप र ज्ञान नभए भरपर्दो धरालो हुन सक्नु पर्छ । कुनै अह्राएको पराएको काम भनेजस्तै खुबीका साथ गर्ने र जिम्मा दिएको काम एकचित्तले गरी भनेजस्तै पुरा गरेको प्रभाव पार्नै पर्छ ।
पाका मान्छे उडन्ते र भोलिको विचार नै नगरी अघि बढ्दैनन्, उहाँहरू त ‘एक पटकको कामले शाखा झुराउने पार्न’ सिपालु हुनुहुन्छ र हुनपर्छ ।
प्राय पाका मान्छे त्यसैले ‘रात रहे अग्राख पलाउँछ’ भनेर आफ्ना कुराले अन्यथा नहोस् भनी मतापले गर्नुहुन्छ र हरेक काम पूरा गर्न कम्मर कस्ने स्वभाव हुन्छ । कुनै काममा पनि नहडबडाउने, नउतर्सिने र नफुर्कने बानी भनेकै पाका मान्छेका गुण हुन् ।
पहिले जसो गरेको भए पनि अब पाका मान्छेले हरेक कुरामा सन्तुलन राख्नु पर्छ । विशेष गरी खानपान र दैनिक नियमित व्यायाम निरन्तर कायम हुनु पर्दछ ।
मान राखेर वा पाएर पनि बिगार गर्ने खानपानमा मीठो हुन्छ भनी अगस्त्य ऋषि बन्नु हुन्न भने हेर्दा सादा लाग्ने तर हजम राम्ररी हुने खानामा भर गर्नुपर्छ । त्यसैले धेरै बुझक्कड पाका मान्छे बिहान पुग्दो खाए पनि बेलुका कम कम खान्छन् ।
अझ कतिपय त जोगी तरकारी र केही सुखा चोकर मिसिएको पिठोको रोटीमा चित्त बुझाउँछन् । कतिपय हरेक साँझ खिचडी वा जाउलोमा रमाउँछन् भने कति त फलफूल र काँचै खानुहुने वा उसिनेका तरकारी र अन्नपातमै मक्ख छन् ।
यस्ता खाद्यले बिगार कम गर्ने र रातमा पाचन प्रणालीमा समेत फाइदा पुर्याउँछ र मस्त निद्रा भई भोलिपल्ट उठ्दा शरीर फूर्तिलो बनाउँछ ।
शारीरिक श्रम धेरै गर्ने अवसर छैन भने दैनिक हिँडाई असल र पुग्दो व्यायाम हो । पाका मान्छे सकिन्न भन्ने नाममा एकै ठाउँ डल्लिई रहँदा श्रमको अभावमा बाह्य र आन्तरिक प्रक्रिया सुस्त भई उमेरिँदा लाग्ने रोगले च्याप्छ ।
करेसाबारी र गमलाकै भए पनि रेखदेख काँटछाँट गर्ने अवस्था छैन भने सके एक्लै नसके साथी लिएर पनि दैनिक अनुकूल बेलामा सामान्य जीउ हल्लने गरी हिँड्ने गर्नुपर्छ ।
घर बाहिर हिँडेन अवस्था नरहे सकेमा घर भित्रैका सामान कहिले कता राखेर सजाउने र कहिले कता राख्ने गरे थकाईलाग्ने श्रम पनि हुने कोठाको आकर्षण पनि रहने ।
त्यसरी सामान मिलाउँदा ससाना कीटाणुले स्थायी वासस्थान बनाउन नपाएर हामी बस्ने ठाउँमा हुनसक्ने भयबाट मुक्त होइन्छ । अर्कोतर्फ कोठाको फरक सजावटले सधैँ बस्ने मान्छेलाई रमाइलो हुन सक्छ र तुलनात्मक हिसाबले कुन ठीक भनी तर्कना गर्ने काम मिल्छ ।
तर्क वितर्कमा कति समय जाला पत्तै पाइन्न, अझ भद्र छलफलमा केटाकेटीसम्मले भाग लिन पाए रमाइलै अर्को ।
बाहिर हिँड्नै छ भने सकेर मिल्छ भने मन मिल्ने र उमेर मिल्ने साथीलाई खबर गरौँ । एक छिनको घुमाइमा थप आनन्द हुन्छ । पछिल्लो खेप भेटेदेखि पछिका सबै दैनिक कुरा एक अर्कालाई भन्दा कति हो कति आनन्द हुन्छ ।
बीचबीचमा घीउ नलाग्ने वर्तमान परिस्थितिको नेपाली राजनीतिको कुरा गरे त समय गएको पत्तै हुन्न । दुई जनामा प्रतिवाद गर्ने स्वभाव नभए त झन् लागेको कुरा पेलेको पेलेइ गर्यो अनि आफ्नो जितको आनन्द उठायो ।
घरमा भुसुनाले पनि नगन्ने पाका मान्छेका कुरा सुनिदिने र पेल्न पाउने मान्छे पाएपछि पाका मान्छेको उत्साह कम चुलिन्छ र ? घर वरपर शून्य शक्तिको चिमजस्तो मधुरो अनुहारका लरबराउने पाका मान्छे त्यस्तो अवशर पछि त सय वाटको चिम जस्तो झल्झलाकार भएको पाइन्छ ।
यस्ता अवसर खोजीखोजी दैनिक नसके हप्तामा एकदुई पटक गर्न र जुटाउन बिर्सनु हुँदैन । पाको उमेरको ‘भिटामिन’ वास्तवमा प्रफुल्ल मनको चैन हो है ।
अन्त्यमा,
पाका मान्छेले जानीनजानी पहिला जे जसो गरे अब फर्कने होइन र रोइलो गरेर सप्रिने होइन । बरु त्यसबाट सिकेर अब के गर्दा राम्रो भन्ने आफ्ना आफन्तलाई सिकाउने हो ।
परिवारकाले माया गरेर वा नगरेर निष्क्रिय परिने काम त्यागेर दैनिक के गर्दा सक्रिय भई स्वास्थ्य पनि सुरक्षित हुन्छ, त्यता विचार पुर्याउनु पर्छ । उमेरले गर्दा चाउरिएको शरीर अति कामको धामा गर्दा चर्को घाम लाग्दा ओइलिएका पालुवाजस्तो हुन बेर लाग्दैन ।
उमेरजन्य रोग व्याधले नझम्टोस् भन्ने सतर्कता राख्नै पर्छ भने नयाँ सङ्क्रमणको खतराबाट पनि बच्नै पर्छ ।
शरीरका आन्तरिक प्रणाली कम क्रियाशील हुने र प्रतिरक्षा प्रणालीमा ह्रास आउने हुन्छ । सामान्य रुघाखोकीले नै पनि पाको ज्यानलाई लडाउन सक्छ, सतर्क हुने हो ‘मरिन्छ भनेर आतङ्कित भएर हातखुट्टा छोड्ने’ होइन ।
बेलैमा बुध्दि पुर्याएमा पाको उमेरमा खुसी नै खुसी बढेर सुखको तलाउमा पौडन किन छोड्नु ?
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९, १९:५०