नामकरण समेत गर्न नसक्दा प्रदेश नम्बर १ ले अघिल्लो कार्यकालमा चर्को आलोचना खेप्नु पर्यो । यसपालि कार्यकालको सुरुवातमै नाम जुराएर कोशी राखिए पनि पहिचान पक्षधरले विरोध गरिरहेका छन् । ती विरोधका आवाजलाई सम्बोधन गर्नुपर्ने चुनौति प्रदेश सरकार सामु छ । अर्कातिर संघमा फेरिने सत्ता समीकरणले प्रदेशमा समेत अप्ठेरो पार्ने आङ्कलन भइरहेको छ । साथी राजन रुचालले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग कुराकानी गर्नुभएको छ ।
आफ्नो प्रदेशको नाम जुराउन सबैभन्दा ढिलो हुनुभयो । नाम जुराउन सकस हुनुको कारण के थियो ?
वास्तवमा प्रदेशको नाम राख्ने कुरालाई सबैले सहज ढङ्गले बुझेको भए सजिलै हुन्थ्यो, तर त्यसो हुन सकेन । राजनीतिक दलहरूले एक ठाउँमा बसेर छलफल गर्न पाएको भए प्रदेशसभाको अघिल्लो कार्यकालमै यो विषय टुङ्गिने थियो । तर, दलहरूको फरक मान्यता भएकाले प्रदेशको नामकरण सकसपूर्ण बनेको थियो ।
यस पटक चाहिँ यति चाँडै नामकरण कसरी सम्भव भयो ?
यो पूर्ण रूपमा प्रदेशसभाको ‘बिजनेस’ हो । सबै कुराको संयोजन उचित ढङ्गले हुँदा नामकरण सम्भव र सहज भएको हो ।
नाम कोशी राखे पनि त्यसपछि भइरहेको विरोधलाई नजरअन्दाज गर्न मिल्छ ?
हामीलाई वास्तवमै प्रेसर थियो । अघिल्लो कार्यकालमा प्रदेशको नाम टुङ्ग्याउन नसक्दा चुनावको बेला जनताले प्रश्न गरेका थिए । यस पटक चुनावमा हामीलाई मत दिएर पठाउँदा पनि जनताले प्रदेशको नाम चाँडो टुङ्ग्याउनुपर्ने सन्देश दिएका थिए । त्यही भएर पनि हामीलाई प्रदेशको नामकरण गर्नुपर्ने दबाब थियो । अब कुरा रह्यो नामको । जुनसुकै नाम राखे पनि त्यसका पक्ष विपक्षमा माहौल बन्थ्यो । अहिले पनि विरोधका केही स्वर सुनिएका छन्, त्यसप्रति मेरो सम्मान छ । अहिले कुनै नयाँ नाम आएको होइन । हामीले थुप्रै नामहरूको विषयमा पटक पटक छलफल गरेका थियौँ । कोशी, सगरमाथा, किराँत, लिम्बुवान, खम्बुवान्, मेचे, विराट, विजयपुर, पाथीभरा यी विभिन्न नामबारे छलफल भएको थियो । तिनै नाम मध्येको एउटा नाम हो, कोशी । जुन नामलाई प्रदेशसभाको दुई तिहाइ भन्दा बढीको बहुमतले पारित गरेको हो । यसमा कुनै समस्या छ जस्तो मलाई लाग्दैन ।
यति धेरै नाममा छलफल भएको रहेछ, तर कोशी नाम नै किन त ?
हामी राजनीतिक पार्टीहरू धेरै खालका मूल्य मान्यताबाट आएका थियौँ । कतिपयले जातीय पहिचानको कुरालाई, केहीले भौगोलिक पहिचान, केही राजनीतिक दलले सांस्कृतिक पहिचानको कुरालाई उठाएका थिए । यीमध्ये कोशीको कुरा गर्दा, नेपालकै सबभन्दा ठुलो नदी पनि हो । नदी किनारबाटै सभ्यताको सुरुवात भएको छ । हाम्रो प्रदेशमा हुर्किएका तमाम संस्कृतिहरू, तमाम मुद्दाहरू कोशीको किनारबाटै हुर्किएका छन् । त्यसले गर्दा कोसीले नै उपयुक्त भन्ने कुरामा हामी पुगेका हौँ । अर्को कुरा, कोशी नदी हामी सबैको जीवन धारा पनि हो भन्ने कुरामा आम सहमति जस्तै देखिएको छ । बाँकी जति पनि विरोधका स्वर सुनिएका छन्, त्यसलाई पनि हामी कुनै न कुनै हिसाबले सम्बोधन गर्छौँ ।
विरोध गरिरहेकाहरूको मनोभावनालाई कोशी नामले कसरी सम्बोधन गर्छ ?
नेपाल राजनीतिक दल प्रणालीबाट चलेको देश हो । जुन राजनीतिक दलहरूले छलफल गरेर पास गरेका थियौँ, हामी अहिले पनि छलफलमै छौं । भइरहेको विरोधबारे सचेत नै छौँ । मुख्यमन्त्रीको हिसाबले मेरो आग्रह पनि छ, जे जस्तो भए पनि हामीले प्रदेशको नाम राखिसक्यौँ । अब यसलाई मानेर अघि बढ्नुको विकल्प हामीसँग छैन । हामी विकास निर्माण र समृद्धिको कुरामा केन्द्रित हौँ । नामका सन्दर्भ विरोधमा रहेकाहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ, म सचेत छु र तयार पनि छु ।
मुख्यमन्त्रीका हिसाबले माग सम्बोधन गर्न तयार छु त भन्नुभयो, तर एक साताभित्र सत्ता समीकरण फेरिन सक्ने सम्भावना छ । सरकार कसरी जोगाउनुहुन्छ ?
आजका मितिसम्म मैले सरकार बनाउँदा पाएको समर्थन र पुस २९ गते लिएको विश्वासको मत कायमै छ, त्यो डगमगाएको छैन । अहिले पनि म बहुमतमै छु । कुनै पनि राजनीतिक पार्टीले फिर्ता गर्ने सोचेको छैन र फिर्ता गर्ने पनि छैन, त्यसमा म विश्वस्त छु । मेरो एमाले र सरकारलाई समर्थन गरेका माओवादी केन्द्र, राप्रपा र जसपाबीच जस्तोसुकै अवस्थामा पनि एक भएर अघि बढ्नेबारे सहमति भएको छ । त्यसमा हामी कायमै छौँ । राष्ट्रिय राजनीतिको प्रभावले तलमाथि केही भई हाल्यो भने, म विश्वासको मत लिन्छ । विश्वासको मत पाउँछु भन्ने कुरामा ढुक्क छु ।
तपाई नेतृत्वको सरकार टिक्ने कि नटिक्ने भन्नेमा जसपाको एक जना सांसदको भूमिका महत्त्वपूर्ण छ क्यारे, त्यही भएर तपाईँ ढुक्क हुनुभएको हो कि ?
म एक वा दुई सांसदको कुरा गर्दिन, जे होस् सरकार नढल्ने कुरामा म विश्वस्त छु । परिस्थिति त्यस्तै हुँदा विश्वासमा मत पाउने कुरामा पनि म ढुक्क छु ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९, १९:३६