काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको बर्न वार्डका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । एक्सन एड नेपालको सहयोगमा बर्न भोइलेन्स सर्भाइभर (बीभीएस) नेपालले आज उपकरण हस्तान्तरण गरेको हो ।
बर्न वार्डका लागि ८ वटा बर्न शय्या, बिरामी सार्ने ट्रली, ड्रेसिङ ट्रली, प्यासेन्ट मोनिटर, फोल्डेबल चेयर, बेड साइट लकर, निबुलाइजर, सक्सन मेसिन, सेन्ट्रिफ्यूज मेसिनलगायत सामग्री हस्तान्तरण गरिएको बीभीएस नेपालका कार्यक्रम संयोजक दिपेन्द्र तिवारीले जानकारी दिनुभयो ।
हस्तान्तर कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन, प्रा. इश्वर लोहनीले जलनका बिरामीको उपचार निकै महङ्गो हुने भएकाले यस्ता उपकरणले उपचारमा सजिलो हुने विश्वास व्यक्त गर्नुभयो । सरकारी तवरबाटै आवश्यक उपकरण र सामग्रीको व्यवस्थापन गर्नुपर्ने भएपनि झन्जटिलो खरिद प्रक्रियाका कारण कतिपय अवस्थामा कठिनाइ व्यहोर्नुपर्ने र दातामार्फत् सहयोग लिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयाे ।
कार्यक्रममा अस्पतालको प्लास्टिक सर्जरी एवम् बर्न विभागका प्रमुख डा. जयनमान श्रेष्ठले सरकारी अस्पतालका अनेकाैँ सिमितता रहेको र सहयोगी संस्थाका यस्ता सहयोगले नै जलनका बिरामीको उपचारमा सजिलो भएको बताउनुभयो ।
बीभीएस नेपालका कार्यक्रम निर्देशक प्रतिक्षा गिरीले अग्नीजन्य हिंसाका घटनामा परेका व्यक्तिको उपचार खर्चिलो र अत्यन्तै कठिन रहेको भन्दै जलनको उपचारमा मात्र केन्द्रित अस्पताल पर्याप्त नहुँदा बिरामी र आफन्तलाई झन् समस्या हुने गरेको बताउनुभयो ।
कार्यक्रममा अग्नीजन्य हिंसाको घटनाबाट प्रभावित सीता तामाङले जलनका बिरामीले समयमा स्वास्थ्य उपचार र आवश्यक अन्य सहयोग नपाउँदा भोग्नुपर्ने समस्याका विषयमा आफ्नो अनुभव राख्नुभएको थियो ।
एक्सन एड नेपालका महिला अधिकार विशेषज्ञ निशा कार्कीले बर्नको उपचार निकै खर्चिलो हुने भएकाले सहयोग रकम जुटाउन पनि निकै लामो समय लाग्ने बताउनुभयो ।
बीभीएस नेपालले शिक्षण अस्पतालसँगै बर्नका बिरामीको उपचार हुने पाटन अस्पताल, कान्ति बाल अस्पताल, प्रादेशिक अस्पताल जनकपुर र भेरी अस्पतालमा अत्याधुनिक स्वास्थ्य उपकरण तथा सामग्री सहयोग गरेकाे जनाएको छ ।
हाल त्रिवि शिक्षण अस्पतालमा ९, प्रादेशिक अस्पताल जनकपुरमा १२,पाटन अस्पतालमा ६ र कान्ति बाल अस्पतालमा २२ शय्याको बर्न वार्ड सञ्चालनमा छ ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९, २०:५१