काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ ।
उपनिर्वाचनमा भाग लिन चाहने दलले भोलिदेखि आउँदो आइतरवारसम्म आयोगमा दल दर्ता गर्न सक्ने छन् ।
आयोगले आज दल दर्ताको सूचना निकाल्दै अस्ति चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले उपनिर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिन सक्ने जानकारी गराएको छ ।
उपनिर्वाचनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि पेस गर्नुपर्नेछ । उपनिर्वाचनका लागि आउँदो २० गते उम्मेदवार मनोनयन हुने तालिकासहितको कार्यक्रम प्रकाशित गरिएको छ ।
वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य चितवन जिल्ला क्षेत्र नम्बर–२ को उपचुनावमा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलले दलको विधान, नियमावली र घोषणा पत्र पेस गर्नुपर्ने छैन ।
चितवन क्षेत्र नम्बर–२ तथा राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि रिक्त भएका ठाउँमा आउँदो वैशाख १० गते उपचुनाव हुँदैछ ।
तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनु भएपछि यी निर्वाचन क्षेत्र रिक्त भएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९, ०९:२७