काठमाडौँ । सामुदायिक रेडियोहरुको १७ औँ वार्षिक साधारण सभा तथा सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन २०७९ ललितपुरमा आजदेखि सुरु भएको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ, अकोराब नेपालको आयोजनामा साधारण सभा तथा सम्मेलनको आयोजना गरिएको हो ।
पहिलो दिन आज विभिन्न तीन सत्रका कार्यक्रम हुने र साधारण सभाको बन्द शत्र पनि आजै हुने अकोराबका अध्यक्ष अर्जुन गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आजको छलफलमा मुलुकभरका सामुदायिक रेडियोका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि र विषयगत मन्त्रालयका अधिकारीको सहभागिता रहने छ ।
पहिलो सत्रमा "पारदर्शी र सबल स्थानीय सरकारका लागि सामुदायिक साझेदारी" विषयमा सरोकारवाला निकायसँग अहिले चलिरहेको छलफलको समन्वय अकोराबका उपाध्यक्ष वन्दना दनुवार दनुवारले गरिरहनु भएको छ ।
उक्त छलफलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी प्रमुख वक्ताका रुपमा सहभागी हुनु भएको छ ।
दाङको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, सल्यानको शिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरी, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, रसुवाको रेडियो लाङटाङका अध्यक्ष सोहम सुवेदी सहभागी पनि वक्ताका रुपमा सहभागी हुनुहुन्छ ।
दोस्रो सत्रमा "परम्परागत हानिकारक अभ्यास, अपाङ्गता भएका व्यक्तिहरुका सवाल र लैङ्गिक समावेशीकरण" अनि तेस्रो सत्रमा "बदलिँदो सूचना प्रविधिमा सामुदायिक रेडियोको दिगोपना" विषयमा अन्तरसंवाद हुने छ ।
साधारण सभा र राष्ट्रिय सम्मेलनको औपचारिक कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भोलि हुनेछ ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९, १०:०२