काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सामुदायिक रेडियोसँग सहकार्य गर्न ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिनु भएको छ ।
ललितपुरमा आजबाट सुरु भएको सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ औँ साधारण सभामा शुभकामना दिनुहुँदै मन्त्री मोदीले यस्तो निर्देशन दिनु भएको हो ।
नागरिकलाई सूचना दिन र आफ्ना गतिविधिका बारेमा जानकारी दिन स्थानीय सरकारले कन्जुस्याइँ गर्न नहुनेमा जोड दिँदै मन्त्री मोदीले भन्नुभयो, "७ सय ५३ वटै पालिकालाई म लेखेर पठाउने प्रतिबद्धता जनाउँछु । भइरहेको स्रोतबाट र आगामी वर्षको बजेट बनाउँदा पनि जनप्रतिनिधिले ख्याल पुर्याउने हो भने सामुदायिक रेडियोको दिगोपनाका लागि सजिलो हुन्छ ।"
स्थानीयस्तरमा भएका राम्रा र नराम्रा दुवै पक्ष सामुदायिक रेडियोले सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ थियो ।
सामुदायिक रेडियोलाई पालिकाले साझेदारको रुपमा सम्वोधन गर्नुपर्ने उहाँको जोड थियो । कतिपय सञ्चारमाध्यम राजनीतिक आस्थाका आधारमा खुलेको टिप्पणी गर्दै मन्त्री मोदीले थप्नुभयो,'' अहिले त कर्मचारीले पनि मिडिया खोल्ने अभ्यास सुरु भएको छ । यो राम्रो होइन ।"
मन्त्रीको रुपमा आफू आइसकेपछि पालिकामा निमित्तको भरमा काम गराउन नहुने प्रयास गरिएको जानकारी दिँदै मन्त्री मोदीले हालसम्म करिब ५० पालिकामा रिक्त रहेका पदमा सङ्घले प्रमुख प्रशासकीय अधिकृत पठाइसकेको बताउनुभयो ।
मन्त्रीको रुपमा आफूले कार्यभार सम्हाल्द २ सय ६० जति पालिका निमित्तले काम चलाइरहेको दावी उहाँको थियो ।
सुशासन र पारदर्शिताका लागि काम सुरु गर्न खोज्दा स्वार्थ समूहले आफूविरुद्ध भ्रम सिर्जना गर्न खोजेको मन्त्री मोदीले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९, ११:४५