काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नागरिक देशप्रति निराश हुने क्रम बढेको बताउनुभएको छ ।
बिहीबार ललितपुरमा भएको सामुदायिक रेडियो प्रसारक सङ्घको १७ औँ साधारणसभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनमा महामन्त्री थापाले देशका विभिन्न सूचकमा सकारात्मक सुधार भए पनि व्यवहारमा नागरिकले देशमा केही राम्रो हुँदै छ भन्ने आशा गर्न र भर पर्न नसकिरहेको बताउनुभयो ।
आफू करिब २ दशकदेखि देशका विभिन्न ठाउँमा घुमिरहेको भन्दै उहाँले अहिलेको जस्तो तन्नेरी पुस्ता निराश भएको कहिल्यै नदेखेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । यस कारण पनि नागरिकलाई देशमा केही भइरहेको छ र हुँदै छ भन्ने आशा जगाउन सामुदायिक रेडियोले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने महामन्त्री थापाको भनाइ छ । ‘हाम्रो देशमा तन्नेरीहरू कसैले पनि देशमै राम्रो हुन्छ भनेर विश्वास गर्न सकिरहेका छैनन्, सबै भाग्न मात्रै चाहन्छन्,’ थापाले भन्नुभयो, ‘मान्छेले राजनीतिक समाचार सुनेर खुसी हुने अवस्था छैन । त्यसैले बेलुका सुत्दै गर्दा मानिसले देशमा केही त राम्रो हुँदै छ भनेर आशा गर्दै सुत्न पाउने अवस्था बनाउन सामुदायिक रेडियोहरूको भूमिका हुनुपर्छ ।’
उहाँले सरकारले हिजोभन्दा आज राम्रो हुँदै छ भनेर नागरिकमा आशाको सञ्चार गर्न सक्नुपर्ने भन्दै उहाँले यसबारे प्रधानमन्त्रीले चिन्ता लिनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री यो अवस्थाबाट डराए आम नागरिकले डर मान्नुपर्ने उहाँको भनाइ छ ।
अर्को प्रसङ्गमा महामन्त्री थापाले राजनीतिक दलका नेता र सांसदले सरकारमा रहँदा र विपक्षमा रहँदा फरक फरक बोली हुने गरेको भन्दै यो गलत हुने उहाँले बताउनुभयो । नागरिकको अभिव्यक्ति स्वतन्त्रता सधैँ अक्षुण्ण रहनुपर्ने भन्दै उहाँले सञ्चारमाध्यमले सरकारका कामकारबाहीमा सुशासन भए नभएको र सरकारले नागरिक अभिव्यक्तिलाई आत्मसाथ गरे नगरेकोबारे सधैँ खबरदारी गर्नुपर्ने महामन्त्री थापाले बताउनुभयाे ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९, १४:३८