केशव अधिकारी, रेडियो सरगम
झापा । हल्दीबारी ३ का नरबहादुर वनले जस्तै, अरु धेरै किसानले पशु सुत्केरी हुँदा भत्ता पाउने भएका छन् । किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न ल्याइएको यो कार्यक्रमले नश्ल सुधारमा सहयोग पुग्ने गाउँबासीको बुझाइ छ । हल्दीबारी ५ का हरी गौतमले अब पशुपालन ब्यवसायमा लाग्नेलाई सहयोग पुग्ने बताउनुहुन्छ ।
झापाको हल्दीबारीका किसानले पशुको सुत्केरी भत्ता पाउन थालेका छन् । कृत्रिम गर्भाधान गरेर सुत्केरी भएका पशुका लागि भत्ता उपलब्ध गराउन थालिएको हो । कृत्रिम गर्भाधान गरेर सुत्केरी भएका गाई र भैंसीलाई पोषणबापत प्रतिपशु हजार रुपैयाँका दरले ‘भत्ता’ दिन सुरु गरिएको छ ।
गाउँपालिकाले ‘किसानको खुसी, पशुपालन र कृषि’ कार्यक्रम अन्तर्गत पशु नश्ल सुधारका लागि सुत्केरी भत्ता दिने निर्णय गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो ।
भत्ताका लागि पशुधनीले पशुमा कृत्रिम गर्भाधान गराएको प्रमाणपत्र सहित निवेदन दिनुपर्ने गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन बताउनुहुन्छ । परम्परागत पशुपालनबाट किसानको जीवनस्तर उकास्न नसकिने भएकाले उन्नत जातको पशुपालनमा प्रेरित गर्न यो कार्यक्रम ल्याएको उहाँको भनाइ छ । गाउँपालिकाले किसानलाई पशु बिमा कार्यक्रममा समेत सहयोग गर्ने भएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५, १४:०४