काठमाडौँ । राजनीतिक समीकरण फेरिएसँगै एमाले प्रदेश सरकारबाट पनि बाहिरिन थालेको छ ।
गत मङ्सिर ४ को निर्वाचन पछि एमाले, राप्रपासहितका दलसँग मिलेर सङ्घ र प्रदेशमा सरकार बनाएको माओवादी काङ्ग्रेससँग मिलेर नयाँ सत्ता गठबन्धनमा बनाएपछि एमाले सङ्घीय सरकारबाट यसअघि नै बाहिरिएको थियो ।
पुस १० मा बनेको एमाले–माओवादी गठबन्धनको समझदारी अनुसार एमालेले कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम र माओवादी केन्द्रले बागमती र कर्णाली प्रदेशको नेतृत्व लिएका थिए ।
यो गठबन्धन टुटेर काँग्रेस लगायतका दलसँग गठबन्धन बनेपछि माओवादी केन्द्र अहिले आफू नेतृत्वको प्रदेश सरकार जोगाउन विश्वासको मत मागिरहेको छ भने आफूले समर्थन दिएको एमाले सरकार ढाल्न विश्वासको मत फिर्ता लिइरहेको छ ।
यसअघि नै सुदूरपश्चिम सरकारको नेतृत्व लिएको एमालेले संविधान अनुसार प्रदेश सभाबाट विश्वासको मत नपाएर बाहिरिएको छ । अहिले सुदूरपश्चिम प्रदेशमा काँग्रेसका कमलबहादुर शाहको नेतृत्वमा नयाँ सरकार छ ।
माओवादी केन्द्रले नेतृत्व लिएको बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेले शुक्रवार प्रदेश सभाबाट पुनः विश्वासको मत पाउनुभएको छ । एमालेका खगराज अधिकारीको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ ।
माओवादी केन्द्रको तर्फबाट गण्डकी प्रदेश सरकारमा सहभागी हरिबहादुर चुमान र रेसमबहादुर जुग्जाली मगरले हिजो साँझ मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा बुझाउनुभएको छ ।
लुम्बिनीमा एमालेका लीला गिरीको नेतृत्वमा सरकार छ ।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको आवश्यक रहन्छ । गिरीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्तिका ४, जसपाका ३, जनमतका ३, लोसपाका ३ र २ जना स्वतन्त्र सांसदसहित ५८ जनाको समर्थन थियो ।
अन्य प्रदेशमा एमालेलाई दिएको समर्थन फिर्ता लिएको माओवादी केन्द्रले भने यो प्रदेशमा समर्थन फिर्ता लिने विषयमा अझै निर्णय लिन सकेको छैन । सो पार्टीको संसदीय दलमा विवाद रहेकोले सरकारबाट बाहिरिने बारेमा निर्णय लिन सकेको छैन ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि गिरी अल्पमतमा पर्नुहुनेछ ।
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९, ०९:०२