काठमाडौँ । घरपरिवारदेखि समाजमा अपाङ्गता भएका व्यक्तिहरूमाथि भइरहेको विभेद अन्त्यका लागि धर्मगुरुले नै मुख्य भूमिका खेल्नुपर्ने सुझाव सरोकारवाला निकायले दिएका छन् ।
धर्मगुरुहरूले केही जिल्लाबाट कुरीति अन्त्यका लागि सुरु गरेको अभियान प्रभावकारी भएको र यो सबै जिल्लामा जरुरी रहेको उनीहरूको भनाइ छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को आयोजनामा यही चैत ८ र ९ गते ललितपुरमा भएको सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियोको १७ औँ साधारण सभा अन्तर्गत भएको "परम्परागत हानिकारक अभ्यासःअपाङ्गता भएका व्यक्तिहरूको सवाल र लैङ्गिक समावेशीकरण" विषयक छलफलमा यस्तो सुझाव आएको हो ।
कार्यक्रममा निरन नेपालका अध्यक्ष भिक्षु पियादासीले धर्मको नाउमा हुने विसङ्गति, कुरीति अन्त्यका लागि आफूहरूले अभियान सुरु गरेको जानकारी दिँदै २८ जिल्लामा धर्म गुरुको संस्था खुलेको बताउनुभयो ।
धर्मका नाउमा अपाङ्गता भएका व्यक्तिमाथि विभेद तथा लाञ्छना लगाउने गरिएको भन्दै यस्तो जनमनस्थिति परिवर्तन गर्ने अवसर धर्मगुरुहरूलाई प्राप्त भएको धारणा राख्नुभयो ।
"वर्ल्डभिजन इन्टरनेशनलको सहकार्यमा ७ जिल्लामा अपाङ्गता भएका व्यक्तिको सवाल उठाउने र लैङ्गिक समावेशीकरणका लागि काम सुरु गरेको १० महिना भइसकेको छ । यो अभियानबाट धर्म गुरुमा पनि परिवर्तन भएको छ ।" अध्यक्ष दासीले भन्नुभयो ।
मूल ग्रन्थलाई आधार बनाएर तालिम पुस्तिका बनाएर परम्परागत हानिकारक अभ्यासका बारेमा धर्म गुरुलाई जानकारी दिन सुरु गरिएको उहाँको भनाइ छ ।
राष्ट्रिय अपाङ्ग महासङ्घका उपाध्यक्ष अनिता घिमिरेले अपाङ्गतालाई पापसँग जोडेर व्याख्या गर्न नहुनेमा जोड दिँदै अपाङ्गता भएकाले कुनै कामै गर्न सक्दैनन् भन्नेमा सत्यता छैन भन्नुभयो ।
पाप गरेर अपाङ्गता भएको भन्ने गलत धारणा घरपरिवार तथा समाजबाट हटाउन सामुदायिक रेडियो र धर्म गुरुले विशेष भूमिका खेल्न सक्ने उहाँको विचार थियो ।
"अवसर पाएमा अपाङ्गता भएका व्यक्तिले पनि ठूलाठूला काम गरेर देखाउन सक्छन् भन्ने त दिखएको छ नि ! सात सय ५३ स्थानीय तहमा रहेका सामुदायिक रेडियोले अपाङ्गता भएका व्यक्तिको विषयमा कार्यक्रम बनाउनुपर्छ । यस्ता कुरीति हटाउन सामग्री प्रासरण गर्नुपर्छ।" अध्यक्ष घिमिरेले थप्नुभयो,"हाम्रो आवाजलाई तपाईंहरूले बोलीदिनुपर्छ । उदाहरणीय कुनै व्यक्तिलाई उभ्याएर समाज परिवर्तनमा सामुदायिक रेडियोले भूमिका खेल्न सक्छन् ।"
कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव ममता बिष्टले सामाजिक कुरीतिविरुद्ध मन्त्रालयले विभिन्न अभियान चलाउँदै आएको जानकारी दिनुभयो ।
सामुदायिक रेडियोबाट कुरीतिविरुद्धको अभियान चलाउन पाए धेरै प्रभावकारी हुने उल्लेख गर्दै सामुदायिक रेडियो हरेक घरघरमा पुगेको र कुसंस्कार र कुरीति पनि समाजमै रहेकाले यसलाई हटाउन सामुदायिक रेडियोले अग्रसरता लिनुपर्ने विचार राख्नुभयो ।
अपाङ्गता भएका अनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको लागि समुदायमै गएर सामुदायिक रेडियोले सचेतनाका कार्यक्रम चलाउन र यसका लागि धर्मगुरुसँग समन्वय गर्न उपसचिव बिष्टले सुझाव दिनुभयो ।
अझैँ पनि महिनावारी भएको बेलामा किशोरीहरु विद्यालय नजाने र दूधदही खान हुँदैन भन्ने गलत बुझाइ पनि समाजमा कायमै रहेको बिष्टको भनाइ छ ।
"स्थानीय तहमा महिला शाखालाई जागृत बनाउनका लागि पनि सामुदायिक रेडियोको भूमिका ठूलो छ । तीन तहका सरकारलाई जोड्दै सामुदायिक रेडियो अघि बढ्नुपर्छ ।" उहाँले भन्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका कायममुकायम सचिव मुरारी खरेलले संविधान र कानुनले सबै समुदायको हक अधिकार राज्यले सुनिश्चित गर्ने भनेको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिलाई राज्यका सबै निकायमा सहभागिताको सुनिश्चत गरिनुपर्छ भन्नुभयो ।
मानव अधिकारको संरक्षणमा राज्यलाई जिम्मेवार बनाउन सामुदायिक रेडियोले काम गर्नुपर्नेमा जोड दिँदै खरेलले विगतमा आयोगले अकोराबसँग मिलेर सचेतनाका कार्यक्रम गरेको र आगामी दिनमा पनि सूचना प्रसारणका लागि प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मानव अधिकार आयोग नपुगेको ठाउँमा सामुदायिक रेडियो पुग्न सजिलो भएकाले रेडियोले उठाएका विषयलाई उजुरी मानेर पनि आफूहरूले अनुसन्धान गर्न सक्ने उहाँको भनाइ थियो ।
अपाङ्गता भएकाले विभेद सहनुपरेको घटना सार्वजनिक गर्दा विभेद गर्नेलाई कारबाहीका लागि भएका कानुनी व्यवस्थाका बारेमा पनि जानकारी दिन खरेलले सुझाव दिनुभयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घका निवर्तमान अध्यक्ष मित्रलाल शर्माले सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबद्वारा सञ्चालित सीआईएनले प्रदेशस्तरमा पनि छलफल गर्दै आएको र दुईतीन दिनको अन्तरमा अपाङ्गता भएकाहरूको सवाल उठाएकोमा प्रशसा गर्नुभयो ।
सामुदाययिक रेडियोमा कम्तिमा एकजना अपाङ्गता भएकालाई रोजगरी दिइएको अवस्था अपाङ्गताका सवाल उठाउन सजिलो हुने उहाँको भनाइ छ ।
स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व हुन नसकेकाले राज्यलाई जिम्मेवार बनाउन सामुदायिक रेडियोले अभियान चलाउनुपर्ने विचार राख्नुभयो ।
बाँकेको प्रतिवोध एफएमका अध्यक्ष शिवकुमार सुनारले पढेलेखाका शिक्षित व्यक्तिमा पनि चेतना र चिन्तनको अभाव रहेको टिप्पणी गर्नुभयो ।
"विभेद, कुरीतिका बारेमा धर्मगुरुले नै प्रष्ट पार्नुपर्यो। सामुदायिक रेडियोले राम्रा पक्षलाई अङ्गालौँ भन्ने कुरालाई जोड दिनुपर्यो । सामाजिक विभेदको कारण धर्मलाई मानिएको छ । यसलाई चिर्नका लागि धर्मगुरुसँग सहकार्य गर्दै सामुदायिक रेडियो अघि बढौँ ।" अध्यक्ष सुनारले भन्नुभयो ।
समग्र एफएमका रामभरोसी महतोले हानिकारक मूल्यमान्यता हटाउन महिला मन्त्रालयलाई अभियान चलाउन के कुराले रोकेको छ भनेर प्रश्न गर्नुभयो।
विभेद अन्त्यका लागि सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने र मानवअधिकार आयोगलले पनि रचनात्मक भूमिका खेल्नुपर्ने उहाँको सुझाव थियो ।
धर्मगुरुको सक्रियता राष्ट्रव्यापी रुपमा बढाउनुपर्ने धारणा महतोको थियो ।
लहानको मिता एफएमका जिवछ चौधरीले भने बालबालिकामा देखिएको अटिजमको सवाल कसैले पनि नउठाएको गुनासो सुनाउनुभयो ।
समुदायमा अटिजम भएका बालबालिका बढेको उल्लेख गर्दै त्यस्ता बालबालिकाको लागि विशेष शैक्षिक संस्था खोल्नुपर्ने बताउनुभयो । उहाँको दाबी अनुसार तराईका गाउँबस्तीमा आठदस जना अटिजम भएका बालबालिका भेटिने गरेका छन् ।
ओखलढुङ्गाको आफ्नो एफएमका विनु राईले अपाङ्गताको सिफारिस गर्ने विशेषज्ञ नभएका कारण गाउँघरमा समस्या भएको बारेमा पनि सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा हिन्दु धर्मका अगुवा भोला प्रेमीले धर्मका आधारमा आफू पनि हिजोको दिनमा छोइछिटोमा विश्वास गर्ने गरेको तर जात र धर्मको आधारमा विभेद गर्नु हुँदैन भन्ने कुराको बोध अहिले भएको अनुभव सुनाउनुभयो ।
हिजोको समाजमा जातीयताको विभाजन भए पनि आज आन्दोललनको क्रममा यी सबै समस्या समाधानका लागि अन्तरक्रिया भइरहनु सकारात्मक भएको उहाँको भनाइ छ ।
"आज धर्म सम्प्रदायका व्यक्तिले कुरीति अन्त्यका लागि एक ठाउँमा उभिनु राम्रो सन्देश हो। अपाङ्गता भए पनि यसमा जात र धर्मको दोष हुँदैन । कुनै एक भागमा अपाङ्गता भए पनि व्यक्ति अरु कामका लागि योग्य र सक्षम हुन्छ ।" प्रेमीले सुनाउनुभयो "भेदभावरहित समाज निर्माणका लागि अग्रसर रहने प्रतिबद्धता जनाउँछु । रेडियोमा विज्ञापनमा कुनै एक पक्षलाई दबाउने र अर्को कुनै पक्षलाई उचाल्ने गरी बजाइनु हुँदैन ।"
मुस्लिम समुदायका अगुवा नाहिदा बानूले जन्मेदेखि मृत्यु परम्परामा गरिने कर्मकाण्डमा अपाङ्गता भएका व्यक्तिमाथि विभेद हुने गरेको देखेको बताउनुभयो ।
"मुस्लिम समुदायमा केही यस्ता अभ्यास छन्, शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा अपाङ्गता भएका बालबालिकामा विभेद छ । यसमा धर्म गुरुले पनि अभियान चलाउनुपर्यो । अकोराबले पनि मुस्लिम बालबालिका, महिला दाइजो, बालविवाहका कारण प्रभावित हुने गरेका कारण मुस्लिम समुदायको आवाजलाई अवसर दिएर सामुदायिक रेडियो अघि बढोस् ।"
सहभागीहरूको सवालको जवाफ दिँदै राष्ट्रिय अपाङ्ग महासङ्घका उपाध्यक्ष घिमिरेले अटिजम भएका बालबालिकाकाको सङ्ख्या विश्वमा नै बढ्दै गएकाले रोकथामका लागि बहस चलाउने प्रतिबद्धता जनाउनुभयो ।
सामुदायिक रेडियो ग्रामीण क्षेत्र केन्द्रीत हुनुपर्ने धारणा राख्दै अटिजम लगायतका १० प्रकारको अपाङ्गता स्वतः आउने बारेमा सबै जानकार हुनुपर्नेमा जोड दिनुभयो ।
सुदूरपश्चिममा जस्तोसुकै अवस्थाका पुरुषसँग अपाङ्गता भएका महिलाको विवाह गरिदिने कुरीति रहेको उहाँको भनाइ छ ।
अपाङ्गता भएका महिलालाई शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकता पूरा गर्दा भेदभाव हुनु गलत भएको घिमिरेको भनाइ छ ।
"अपाङ्गता भएका बालबालिकालाई विद्यालयसँग जोड्न सामुदायिक रेडियोले पनि पहल गर्नुपर्छ । अपाङ्गता भएकालाई मूलधारमा ल्याउनका लागि धर्मगुरुको जस्तो भूमिका कसैको छैन । धर्म गुरुले विशेष अभियान चलाउनुपर्छ ।"उहाँले जोड दिँदै भन्नुभयो ।
भिक्षु पियादासीले सबै धर्मगुरुलाई सबै कुरा थाहा नहुने जानकारी दिँदै अपाङ्गता भएका व्यक्तिको बारेमा सात जिल्लामा धर्मगुरुलाई तालिम दिन सुरु गरिएपछि सकारात्मक प्रभाव देखिएको बताउनुभयो ।
रौतहटमा रहमत आलम नामक धर्म गुरुले मदरसामा तालिम लिएर जिल्लामा अपाङ्गता भएका व्यक्तिको विद्यालय छ भन्ने थाहा पाएर बालबालिकालाई सिफारिस गरेको उहाँको भनाइ छ ।
"भविष्यमा अकोराबसँग पनि हामी सहकार्य गर्छौँ । धर्म गुरुमा पनि कुनै कम्जोरी छ भने सुधार गर्नका लागि प्रतिबद्धता जनाउँछौँ । धर्ममा पनि कमिकम्जोरी पनि छन् ती सबै सुधार गर्दै जाने प्रतिबद्धता गर्छु।"
महिला बालबालिका तथा सामाज कल्याण मन्त्रालयका उपसिचव ममता बिष्टले प्रदेश सरकारसँग सहकार्य गरेर तीनचार वर्षदेखि कुरीतिविरुद्धको अभियान चलिरहेको र स्थानीय तहले गरेका कामकारबाहीको बारेमा रिपोर्टिङ हुन नसकेको बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका कायममुकायम सचिव खरेलले अछाममा छाउपडी र नवलपरासीमा मानव बलीको बारेमा अनुसन्धान गरी कारबाहीको प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो ।
विभेदको घटनाको बारेमा अनुगमनको पाटो कम्जोर भएको महसुस आफूहरूले पनि गरेको उहाँको भनाइ छ । कुनै छुटेका विषय भएमा जानकारी दिनका लागि सामुदायिक रेडियोको भूमिका ठूलो हुने उहाँले बताउनुभयो ।
अकोराबका कार्यकारी निर्देशक बालबकृष्ण पोखरेलले अकोराबले २०७२ सालदेखि हानिकारक परम्पराविरुद्धको अभियान चलाउँदै आएको जानकारी दिँदै मानव अधिकार आयोग, सरकार र सरोकारवाला निकायसँग आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो ।
अकोराब र सीआईएनले प्रकाशन तथा प्रसारणमा अपाङ्गता भएका व्यक्तिको सहभागिता बढाउने र आगामी दिनमा सार्वजनिक कार्यक्रम गर्दा अपाङ्गमैत्री संरचना छनोट गर्ने प्रतिबद्धता पनि पोखरेलले जनाउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा र ४ सय भन्दा बढी सहभागी सम्मेलनको औपचारिक कार्यक्रमको उद्घाटन ४ वटा मुख्य धर्मका धर्मगुरुहरुले प्राथना गरेर गरिएको थियो ।
सम्मेलनपछि जारी गरिएको १४ बुँदे घोषणापत्रमा अपाङ्गता भएका व्यक्तिले सहनुपरेको विभेद, हानिकारक परम्परा, प्रथा अन्त्यका लागि सुरु गरिएको अभियानलाई सशक्त बनाउने उल्लेख गरिएको छ ।
घोषणापत्रको दोस्रो बुँदामा सामुदायिक रेडियोको नेतृत्व र प्रसारण सामग्रीमा महिला, आदिवासी, बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका, दलित, अल्पसङ्ख्यकलगायत पछि पारिएका समुदायहरूलाई समान ढङ्गले अवसर पाउने वातावरण बनाउन नीतिगत रूपमै व्यवस्था गर्न प्रतिबद्धता व्यक्त गरिएको छ।
पाचौँ बुँदामा भनिएको छ, "बालविवाह, दाईजोप्रथा, छाउपडी, लैङ्गिक हिंसा, अपाङ्गता भएकाहरूमा हुने विभेद, छुवाछुत, बोक्सीलगायतका हानिकारक परम्परागत अभ्यासहरूको अन्त्यका लागि निरन्तर क्रियाशील रहने र धार्मिक तथा सांस्कृतिक सद्भावका लागि सबै धर्मका धार्मिक, सांस्कृतिक अगुवा, धर्मगुरु तथा सरोकारवालाहरूसँग सहकार्य गरी अभियान सञ्चालन गर्न प्रतिबद्धता व्यक्त गर्दछौँ ।"
सातौँ बुँदामाअपाङ्गता भएका व्यक्तिहरूलाई सामुदायिक रेडियोको सञ्चालक समिति र रेडियो सामग्री निर्माणमा सहभागी गराउन रणनीति बनाउने प्रतिबद्धता जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९, ११:३८