काठमाडाैँ । ऋणको चर्को ब्याज लिने मिटरब्याजीलाई कारबाही गर्न माग गर्दै ११ जिल्लाका प्रभावित पैदल यात्रा गरेर काठमाडौँ आइपुगेका छन् ।
ऋण लिएको रकमभन्दा बढी ब्याज तिरिसक्दा पनि ऋण नसकिएको र अझै ऋण तिर्न साहुले दबाब दिएकाले न्याय माग्न आफुहरु हिँडेरै काठमाडौँ आइपुगेको मिटरब्याजी प्रभावित मनोज पासवानले सीआईएनसँग बताउनुभयो । मधेश प्रदेशका ८ जिल्लाका साथै कैलाली, झापा र खोटाङका ७२ जना प्रभावितहरु ११ दिन लगाएर काठमाडौँ आइपुगेका हुन् ।
मिटरब्याजविरुद्ध प्रधानमन्त्रीलाई आवाज सुनाउन उनीहरूले बर्दिबासबाट पैदल यात्रा थालेका थिए । आइतबार बिहान मकवानपुरको फाखेलबाट हिँडेका उनीहरू दिउँसो चन्द्रागिरि नगरपालिकाको मातातीर्थ आइपुगेका हुन्।
यसअघि भएको सहमति सरकारले प्रतिबद्धता पूरा नगरेपछि सरकालाई भेट्न पैदलै यात्रा गरेर आएको पासवानले बताउनुभयाे ।
गत वर्ष २८ जेठदेखि दुई चरणमा ६१ दिन धर्ना बसेपछि प्रभावितसँग सरकारले गत असोज १ असोजमा सम्झौता गरेको थियो।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९