काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका राजनीतिक दलहरूबीच आज मन्त्रालयको भागबण्डा बारेमा सहमति हुने नेताहरूले दाबी गरेका छन् ।
हिजो प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भएको बैठकमा आज साँझसम्ममा सहमति गर्ने निर्णय भएको थियो ।
त्यसैअनुसार आज नै मन्त्रिपरिषद् विस्तारको तयारी भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सीआईएनसँग बताउनुभयो ।
उहाँको दाबी अनुसार मन्त्रीहरूको शपथ सकभर आजै नभए भोलिसम्ममा गराइनेछ ।
हिजोको शीर्ष नेताबीचको छलफलमा अर्थ, गृह र भौतिक पूर्वाधार मन्त्रालय कसले पाउने भन्नेमा सहमति जुटे पनि समग्र मन्त्रालयको भागबण्डा टुङ्ग्याउन आज सरकारलाई विश्वासको मत दिएका दलहरूको बैठक दिउँसो ४ बजे बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत लिएको एक साता बित्दा पनि मन्त्रिपरिषद् विस्तारमा सहमति हुन सकेको छैन ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९, ०९:४३