काठमाडौँ । वन्यजन्तुका कारण जनधनको क्षति भएपछि दिइने राहत छिटो उपलब्ध गराउन सरकारले राहत निर्देशिका संसोधन प्रक्रिया सुरु भएको छ ।
वन्यजन्तुका कारण हुने क्षतिको राहतका लागि कागजात पेश गरेको लामो समयसम्म पनि पीडितले नपाउने समस्या समाधानका लागि तयार पारिएको निर्देशिकाको मस्यौदा वन मन्त्रालय हुँदै अर्थमन्त्रालयसम्म पुगेको छ ।
संसोधनको लागि तयार पारिएको निर्देशिका मन्त्रीपरिषद्ले पारित गरेको अवस्थामा अब १ सय ४ स्थानबाट पीडितले राहत पाउनेछन् ।
सीआईएनसँग कुराकानी गर्दै राष्ट्रिय निकुञ्च तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालले यसअघि विभाग मातहतका २० वटा कार्यालयबाट राहत दिँदै आइएकोमा अब ७७ जिल्लाबाट राहत दिन प्रस्ताव गरिएको बताउनुभयो ।
विभागले बनाएको मस्यौदामा वन्यजन्तुका कारण जनधनको क्षति भएमा दिइने राहत रकम बैंकमै जम्मा गरिदिने प्रस्ताव छ ।
यसअघि केही स्थानमा बैंकमै जम्मा गर्ने अभ्यास भए पनि अनिवार्य गरिएको थिएन ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९, ०९:५६