काठमाडाैँ । दोलखाको भीमेश्वर नगरपालिका ५ धरमघरका राम प्यारी कार्कीको ४ जनाको परिवार छ । उहाँको भान्छामा पाक्ने दाल, तरकारी, अचार आदिमा ‘चखिलो’ गरी नुन राख्ने गरिन्छ । धेरै नुनले स्वास्थ्य बिगार्ने थाहा भए पनि बानी लागिसकेकाले घटाउन नसकेको उहाँ बताउनुहुन्छ । नुन चाहिँ अलि चट्ट लाग्ने गरी नै खान्छौँ अलि बिलिनो गरी खायो भने स्वाद पर्दैन ।’ सीआईएनसँग उहाँले भन्नुभयो ।
घरमा पाक्ने परिकारमाभन्दा चाउचाउ, चिज बल्स, बिस्कुटलगायत प्याकेटमा राखिएका खानेकुरामा अझ बढी नुन हुन्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले ८० प्रतिशत नेपालीले दैनिक औसतमा ९ दशमलव १ ग्राम नुन खाने गरेको देखाएको छ । जबकि एक जना वयस्क व्यक्तिका लागि दैनिक ५ ग्राम नुन पर्याप्त हुन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार भर्खर जन्मेकादेखि ६ वर्षका बालबालिकालाई दैनिक ९० माइक्रो ग्राम, ६ देखि १२ वर्षसम्मका बालबालिकालाई १ सय २० माइक्रो ग्राम आयोडिन चाहिन्छ । गर्भवती तथा दूध खुवाउने आमालाई दैनिक २ सय ५० माइक्रो ग्राम तथा किशोर किशोरी र वयस्कलाई १ सय ५० माइक्रो ग्राम आयोडिन दैनिक आवश्यक पर्छ ।
१५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिलाई दिनमा ५ ग्रामसम्म नुनको सेवन गर्नु ठिक हुन्छ । तर यो उमेर समूहका झन्डै ८० प्रतिशत नेपालीले ९ दशमलव १ प्रतिशत ग्राम नुन खाने गरेको परिषदले गरेको अध्ययनले देखाएको छ ।
नुन खाने बानी नघटाए आगामी ७ वर्षमा करिब ७० लाख जनाको मृत्यु नुन धेरै खाएका कारण हुने विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ । पछिल्लो तीन दशकमा नेपालमा नुन सेवनसँग सम्बन्धित उच्च रक्तचाप, स्ट्रोक, मुटु र रक्त नलीसँग सम्बन्धित रोगमा अत्यधिक वृद्धि भएको छ । त्यसैले पनि नुन खाने बानी कम गर्नुपर्ने मुटु रोग विशेषज्ञ डा. कमल लम्साल बताउनुहुन्छ ।
खानपानमा ध्यान नदिँदा धेरै खालका रोग लाग्ने क्रम बढेको छ । अहिले खाएको खानेकुराले केही वर्ष पछि मात्र पनि असर देखाउने भएकाले बेलैदेखि ध्यान दिनुपर्ने पोषणविद् बताउँछन् । पोषणविद् डा. अरुणा उप्रेती हरियो सागदेखि सबै अन्नमा थोरै थोरै नुन हुने भएकाले थप नुन सकेसम्म कम खाए पनि शरीरका लागि पुग्ने बताउनुहुन्छ । चाहिनेभन्दा धेरै नुन खानु पनि नेपालमा नसर्ने रोगको जोखिम बढ्नुको एक प्रमुख कारण रहेको छ । रहेको छ । त्यसैले, स्वादलाई होइन स्वास्थ्यलाई ध्यान दिँदै आजैबाट नुन कम खान थाल्नुपर्ने डाक्टर र पोषणविहरूको सुझाव छ ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९, ११:५६