ठेकेदार सा'प
ओ ठेकेदार सा'प
यो माटोको सुगन्ध र यो हावाको बास्ना
तिम्रो मस्तिष्क घातको कारण हुन सक्छ
त्यसैले होस गरेर आऊ तिमी
मेरो पाखा पखेरा र भस्मेहरूमा
तिमी बामे सर्न सिक्दै गर्दा
हाम्रा पुर्खाहरू यो माटोको सृष्टि गर्दै थिए
जुन माटोमा जून तारा पनि अमृतको खेती गर्न आउँथे
तिमी तोते बोल्न सिक्दै गर्दा
हाम्रा नाक्छोङहरु मुन्धुमका भाका हालिरहेका हुन्थे
जुन भाका सुनेर निनामा सुम्निमाहरू मारुनी नाच्थे
तिमीले लाज ढाक्न सिक्दै गर्दा
हाम्रा बोजुहरू अल्लोको धागो औलामा नचाइरहेका हुन्थे
जसलाई पहिरिएर उँधौली उँभौलीको बेला
पारुहाङ पनि सिलिचोङमा हाङसिली नाच्थे
हो म त्यही आदिम सभ्यताको प्रजाति हुँ
तिम्रो ब्रह्मले नभ्याउने सुदूर भूतको
अटल र अविनाशी युग हुँ
ए साँच्ची
तिमी त नयाँ ठेकेदार होइन ?
तिमीलाई स्वागत छ यो हाम्रो आदिम भूमिमा
तिमी हिँड्ने बाटो भरी लिम्चिबुङ ओछ्याइदिउँला
तिमी बिसाउने चौतारोमा हेङमावाको सगुन राखिदिउँला
प्यास लागे उकालीमा डुङ्गे धारो बनाइदिउँला
भोक लागे देउरालीमा बाचिपाको खाजा दिउला
के तिम्रो पाचन प्रणाली ठिक छ ?
ठेकेदार साप
आऊ दूरबिनले हेर्दै आऊ
आऊ फित्ताले नाप्दै आऊ
कहाँ कति काट्न मिल्छ
कहाँ कति टुक्र्याउन मिल्छ
यो आदिम भूमिलाई पुरै प्लटिङ गर्ने
नयाँ कित्ताकाटको योजना लिएर आऊ
तिम्रो योजनाको फाइलमा
म दायाँबायाँ औँठाछाप ठोकिदिउँला
तर मसी चाहिँ मेरो रगतको हुनेछ
तिम्रो कागजको सीमारेखाले
मेरो सृष्टिको इतिहास छेकिन्न
तिम्रो गणितको अङ्कले
मेरो सभ्यताको हिसाब आउँदैन
तिम्रो उर्दी र आदेशले
मेरो पुर्खाको आशिष् मेटिन्न
तिमी काले, गोरे, नेप्टे, थेप्चे
जे नाम राख
मेरो माटोको बास्ना परिवर्तन हुँदैन
ओ ठेकेदार साप
यो जङ्गलको तरुल र भीरको फूल
तिम्रो हृदयाघातको कारण हुनसक्छ
त्यसैले होस गरेर आऊ तिमी
मेरा रानीवन, ढाडे भीर र ओराङ खोलाहरूमा ।।
पुनश्च: नाक्छोङ = पुजारी
अल्लो = एक रेसादार वनस्पति
सिलिचोङ = भोजपुर र सङ्खुवासभा बिचको एक हिमाल
हाङसिली = मेवाहाङ जातिको प्रमुख सांस्कृतिक नाच
हेङमावा = रक्सी
लिन्चिबुङ = एक प्रकारको बास्दानादार फूल
वाचिपा = कुखुराको प्वाँख पोलेर मासुसँग बनाइएको किराँती परिकार
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९, १२:३८