मणि राणा
घरमा बुवा–मुमा अल इन्डिया रेडियो सुन्नुहुन्थ्यो । त्यो रेडियो अझै पनि मसँग छ । मलाई सानैमा रेडियोमा बोल्ने रहर लागेको थियो । रेडियो नेपालमा बोल्ने चाहना बीए पास गरेपछि पूरा भयो । रेडियो नेपालमा भर्ना खुलेपछि आवेदन दिएर छनोट भएँ । त्यसबेला त्यहाँ अंग्रेजी समाचार वाचन गर्नेमा म, मदालता सिंह र गौरी केसी थियौं । पछि माइकल चन्द आउनुभयो ।
रेडियो नेपालमै रहँदा सन् १९७१ को जूनमा ब्रिटिस काउन्सिलको छात्रवृत्तिमा १० हप्ते तालिमका लागि लन्डन गएँ । तालिमकै क्रममा त्यहीं काम गर्ने प्रस्ताव आयो । मैले नाइँनास्ति गर्नुपर्ने कारण थिएन, सहमति जनाएँ । त्यसका लागि रेडियो नेपालको स्वीकृति ल्याउन भनिएको थियो । स्वीकृति लिएर आउँछु भनेर म नेपाल फर्किएँ । तर, रेडियो नेपालले स्वीकृति दिन मानेन । मैले अनेक प्रयत्न गर्दा पनि सकिनँ ।
मलाई भने लन्डनमा काम गर्ने सपनाले पिरोलिरह्यो अनि भारत जाने भन्दै ढाँटेर गएँ । बीबीसीका हाकिमलाई भेटेर रेडियो नेपालले स्वीकृति नदिएको बताउँदा त्यो नभई काममा लगाउन नसक्ने बताउनुभयो । मैले उसो भए अब म लन्डनमै बसेर अन्यत्रै काम गर्छु भनें । त्यसपछि उहाँले आफूभन्दा माथिल्ला अधिकारीलाई भेटाउनुभयो । ती अधिकारीले आउ–जाउको टिकट बीबीसीले नै व्यहोर्ने गरी रेडियो नेपालको स्वीकृतिपत्र लिन नेपाल जान भन्नुभयो । म नेपाल फर्किएँ, स्वीकृति लिइछोड्ने अठोटका साथ ।
तर, फेरि भेटेर फकाउँदा पनि रेडियो नेपालका हाकिम मान्नुभएन । त्यसपछि अरू बाटा खोज्ने क्रममा साथीहरूले राजदरबारका सचिवलाई भेट्न सुझाउनुभयो । दरबारमा राजनारायणप्रसाद भन्ने मेरा सर हुनुहुन्थ्यो । उहाँलाई भेटेर आफ्नो कुरा सुनाएँ । उहाँले चिरन थापालाई भेट भन्नुभयो । त्यसपछि थापालाई फोन गर्दा उहाँले भेट्ने समय दिनुभयो । भेटेर सबै कुरा भनेपछि उहाँले संचार मन्त्रालयमा सचिव नियुक्त हुनासाथ खबर गरौंला भन्नुभयो ।
जून महीनामा सचिव नियुक्त भएको थाहा पाउनासाथ थापासँग फोन सम्पर्क गर्ने कोशिश गरें, तर सम्पर्क हुनै सकेन । पछि उहाँले नै फोन गरेर सचिवलाई भेट भन्नुभयो । सचिवलाई भेटेपछि मेरो काम भयो । अनि आवश्यक प्रक्रिया पूरा गरेर लन्डन पुगें ।
त्यो बेला भारत जाने अनुमति पाउनु नै ठूलो कुरा हुन्थ्यो । बेलायत जान पाउँदा म दङ्ग हुने नै भएँ । त्यसबेला बीबीसीभन्दा पनि लन्डन जान पाएको भन्नेमा बढी फुरुङ्ग थिएँ । यादव खेरलजी बीबीसी नेपाली सेवाको प्रमुख हुनुहुन्थ्यो । हरेक शनिबार आधा घण्टा बीबीसी नेपाली सेवा प्रसारण हुन्थ्यो । हामी हप्ताभरिका समाचारसहित रिपोर्टहरू प्याकेजिङ गथ्र्यौं । हप्तामा एक दिन शुक्रबार कामको अलि धपेडी जस्तो हुन्थ्यो । अलि पछि हप्ताको तीन दिन हुँदै हाम्रो प्रसारण दैनिक भयो । जनशक्ति पनि थपियो ।
मैले शनिबार अंग्रेजी भाषा सिकाउने कार्यक्रम ‘इंग्लिस बाइ रेडियो’ चलाउन थालें । नेपाल टेलिभिजनमा यो कार्यक्रमको नाम ‘फलो मी’ थियो । ५० अंक जति आएको त्यो कार्यक्रम साह्रै लोकप्रिय भयो । म रेडियोमा बसेर माइक्रोफोनमा बोलेको मानिस, टीभीमा रमाइलो पारामा हाँसेर बोल्नुपर्दा शुरूमा केही असजिलो भयो । पछि विस्तारै सहज हुँदै गयो ।
ब्रिटिस काउन्सिलको छात्रवृत्तिमा रहँदा मासिक ७८ पाउन्ड पाएको थिएँ, बीबीसीमा पहिलो महीनाको तलब १४४ पाउन्ड थापेको थिएँ । त्यो बेला त्यो रकम निकै थियो, तर मैले खल्तीको खल्ती नै सिध्याएँ । २१ वर्षको अल्लारे न थिएँ, लुगाफाटो किनें, रमाइलो र फुर्मास गरेरै पैसा सकें ।
मैले बीबीसीमा ३२ वर्ष काम गरें, लामो समय घरबाट बाहिरको बाहिरै भएँ । नेपालको धेरै कुरा बिर्सिएँ । आउन त वर्षैपिच्छे आउँथें, तर नातागोता चिन्ने, कसलाई कुन साइनोले बोलाउने अनि नमस्कार गर्ने कि ढोग्ने भन्नेमा अलमलिने भएँ ।
त्यो अवधिमा मैले बिर्सिनसक्नुका सम्झनाहरू पनि सँगालेको छु । कामका क्रममा परिचय मात्र होइन दुर्लभ अवसरहरू पनि पाएँ । मैले त्यो बेला पाएको श्रोताको माया बिर्सिनसक्नु छ । मलाई सुन्नुभएका साथीहरू अहिले पनि भेटिनुहुन्छ ।
त्यसबेला रेडियोमा धेरै पत्र आउँथे । तिनलाई हामी ‘लिस्नर्स लेटर’ भनेर समेट्थ्यौं । अहिलेका नेपाली कांग्रेसका थुप्रै नेता त्यसबेला युवा विद्यार्थी हुनुहुन्थ्यो । पत्र पठाउनेमा उहाँहरू पनि हुनुहुन्थ्यो । जापानीहरूले नेपाली भाषामा पठाएका पत्रहरू अझै सम्झनामा छन् । एकजना नेपालीले पीपलको पातमा पत्र पठाएको सम्झँदा अहिले पनि रमाइलो लाग्छ । त्यो माया कहिल्यै भुल्न सकिन्न ।
कामका क्रममा मैले खगेन्द्र नेपालीलाई भेटें । हामी अहिले पनि असल मित्र छौं । उहाँ बेलायत र म नेपाल बसे पनि कुराकानी गरिरहेका हुन्छौं । धेरै श्रोताले हामीलाई रेडियो जोडीका रूपमा सम्झनुभएको छ । अन्तर्वार्ता गर्ने, रिपोर्ट बनाउने, समाचार लेख्नेबाहेक हामीले अंग्रेजी र अन्य भाषाका समाचारलाई नेपालीमा उल्था गर्ने काम पनि धेरै गर्यौं ।
३२ वर्षको अवधिमा मैले लन्डनबाट काठमाडौं आइपुग्ने गरिको ‘ए–फो’ पेपरमा लेखें होला । मैले काम सुरु गर्दा बीबीसीमा कम्प्युटर आएकै थिएन । जब आयो, हामी त्यसमा अभ्यस्त हुन सकेनौं । पछिल्लो पुस्ताले कम्प्युटरमा छिटोछिटो काम गरेको देख्दा हामीलाई पनि रहर त लाग्थ्यो, तर त्यसमा रत्तिन गाह्रो भयो । किन, किन हामीले कम्प्युटरमा टाइपभन्दा लेखेरै काम गर्दा मजा मान्यौं ।
बीबीसीमा दुई वटा स्रोत चाहिन्छ भन्ने हुन्थ्यो– आफ्नै संवाददाता र न्यूज एजेन्सी । न्यूज एजेन्सीका समाचार भेरिफाइ गरेर प्रसारण गथ्र्यौं । ती समाचार फ्याक्स र टेलिग्रामबाट आउँथे । २०४७ सालको आन्दोलनताका बीबीसी नेपाली सेवा नसुन्ने कोही थिएन भन्दा हुन्छ । त्यसबेला नेपालमा व्यावसायिक पत्रकारिता नभएकाले निष्पक्ष समाचारका लागि बीबीसी सुन्नुको विकल्प थिएन ।
साप्ताहिक रूपमा प्रसारण हुँदा हामी लगभग सबै सामग्री अघिल्लो दिन नै तयार पारिसक्थ्यौं । समाचार मात्र लाइभ पढिन्थ्यो । एक दिन म प्रसारण शुरू हुनुभन्दा आधा घण्टा अगाडि मात्र निद्राबाट ब्युझें । धन्न, ट्याक्सी पाइयो र हतार–हतार गरेर दुई–तीन मिनेट अगाडि स्टुडियो पुगेर सम्हालें । धुम्धुम्ती बसिरहेको स्टुडियो म्यानेजरले मेराविरुद्ध रिपोर्ट गर्न पाएन ।
विशेष अवसर या घटनामा बुलेटिन वा समय थपेर काम गर्यौं । म बीबीसी गएकै वर्ष नेपालमा राजा महेन्द्रको निधन भयो । त्यसबेला लन्डनका एकजना डाक्टर बीबीसीमा ‘आउट साइड कन्ट्रिब्युटर’का रूपमा काम गर्नुहुन्थ्यो । उहाँको बुवाले त्यसबेला धार्मिक कार्यक्रम चलाउनुभयो, जुन महेन्द्रप्रति समर्पित थियो । त्यस्ता केही बेला थप समय र कार्यक्रम गरिएको थियो ।
२०४८ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई चुनावमा हार्नुभयो । मैले लन्डनबाटै फोन गरेर उहाँको अन्तर्वार्ता गरें । शुरूमा मैले उहाँलाई ‘प्राइममिनिस्टर, कमिजरेसन्स्’ भनें ।
उहाँ ‘चुनाव हारेको बेला के को कङ्ग्य्राचुलेसन्स्’ भनेर रिसाउनुभयो । मैले, सरी मैले त्यसो भनेको होइन, प्रधानमन्त्रीज्यू भनें । भोलिपल्ट उहाँले फेरि नेपालबाट फोन गरेर हिजो तपाईंले के शब्द भन्नुभएको रे ? भनेर सोध्नुभयो । मैले जानकारी गराएँ । उहाँले ए, ए भन्नुभयो । यस्ता अनेकौं सम्झना छन् ।
त्यस्तै, बेलायतका युवराज (अहिलेका राजा) चाल्र्सको अन्तर्वार्ताका लागि ‘बकिङ्घम प्यालेस’ गएको छु । हामी जस्तो आम मानिसले बाहिरबाट हेर्ने चिज हो, दरबार । तर मैले बकिङ्घम प्यालेस भित्रबाट बाहिर हिंडिरहेका मानिसलाई हेर्न पाएको छु ।
त्यसबेला युवराज चाल्र्स नेपाल जान लाग्नुभएको थियो । यस्तो बेला अन्तर्वार्ता गरेर सम्बन्धित देशका सञ्चारमाध्यमबाट प्रसारण गर्ने गरिंदो रहेछ । यसै क्रममा मैले प्रिन्स चाल्र्ससँग अन्तर्वार्ता गर्न पाएको थिएँ ।
मैले नेपालका धेरै जना प्रधानमन्त्री, मन्त्री, नेताका साथै विभिन्न क्षेत्रका व्यक्तित्वसँग अन्तर्वार्ता गरेको छु । केपी शर्मा ओलीसँग उहाँकै ओछ्यानमा बसेर कुराकानी गरें । तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीसँग कुराकानी गरें । हिलारी र लोड हन्टसँग उहाँहरू बसेको वेल्सको होटलमा गएर अन्तर्वार्ता गरें । अन्तर्वार्ता सकेर कोठामा गएर सुन्दा त म छाँगाबाट खसेको जस्तै भएँ । कुनै पनि कुरा रेकर्ड भएको थिएन । खासमा रेकर्डरको टेप नै चलेनछ । म असिन–पसिन भएँ । अनि फेरि डराई–डराई उहाँहरूलाई पुनः अन्तर्वार्ता गर्न सकिन्छ कि भनेर अनुरोध गरें । उहाँहरूले सहजै स्वीकार्नुभयो । र फेरि गएर उहाँहरूसँग अन्तर्वार्ता गरें ।
प्रविधिको विकासको प्रभाव रेडियोहरूमा नपर्ने कुरै भएन । हामीले काम गर्दा रेडियो सर्ट वेभ र मिडियम वेभमा प्रसारण हुन्थ्यो, अहिले एफएमको जमाना आयो । रेडियो नेपाल नै एफएममा मात्र प्रसारण भइरहेको भन्ने सुनेको छु । यसरी प्रविधिमा सामान्य परिवर्तन होइन, कायापलट नै भइरहेको छ ।
परिवर्तन सबै कुरामा भइरहेको छ । सन् १९७१ मा म लन्डन जाँदा बीबीसीमा नेपालको सिंहदरबारको जस्तै फर्निचर थियो । ३२ वर्षमा मैले छोड्दै गर्दा बीबीसीको अफिसमा वातावरणमैत्री फर्निचर राखिएको थियो । त्यसबेला हामी हातैले लेखेर काम चलाउँथ्यौं अहिले कम्प्युटर, इन्टरनेट, मोबाइल, ट्याबलेटलगायत उपयोगमा छन् ।
जति नै प्रविधि फेरिए पनि रेडियो सुन्न छाडिएला, यो माध्यम हराउला भन्ने मलाई लाग्दैन । विश्वभरका गाउँ–गाउँमा अझै पनि सूचनाको मुख्य माध्यम रेडियो नै छ । शहरका मानिसले रेडियो सेट नकिन्लान्, तर मोबाइलमा रेडियो नै सुन्छन् । समाचारका लागि म आफैं पनि रेडियो नै सुन्छु । साह्रै धेरै विज्ञापन आउने हुनाले टीभी हेर्दिनँ । बदलिंदो प्रविधि अनुसार रेडियोलाई अपडेट भने गर्नुपर्छ ।
भिडिओ– ३२ वर्ष बीबीसीमा बिताएका वरिष्ठ पत्रकारको अनुभव
(सीआईएनका सम्पादक लक्ष्मण कार्कीसँगको कुराकानीमा आधारित यो सामग्री सामुदायिक रेडियो प्रसारक संघ अकोराव नेपालले प्रकाशन गरेको विशेषाङ्क सामुदायिक रेडियोमा प्रकाशित छ ।)
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९, १६:५९