काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय निजामती ऐन एकदुई दिनमा संसदमा जाने दावी गर्नु भएको छ ।
सीआईएनको कार्यक्रम "हाम्रोपालिका"मा कुरा गर्दै मन्त्री मोदीले भन्नुभयो, ‘सहमतिका लागि कानुन र अर्थ मन्त्रालयमा मस्यौदा पुगेको छ । त्यो केही दिनमै फिर्ता भएपछि संसदमा लैजाने तयारी भएको छ ।’
स्थानीय तहमा निमित्तको भरमा काम चलाउने प्रवृत्ति जनप्रतिनिधिमा बढेको भन्दै आफ्नो पहिलो प्राथमिकता त्यसलाई रोक्नका लागि रिक्त भएका ठाउँमा प्रमुख प्रशासकीय अधिकृत पठाउने रहेको बताउनुभयो ।
यो अभियान जनप्रतिनिधिलाई मन नपरेको भन्दै उहाँले जस्तोसुकै दबाब आए पनि आफूले विधि र प्रक्रिया नमिच्ने दाबी र्नुभयो ।
मन्त्रालयले सङ्घले पठाएका प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीलाई हाजिर गराएर एक हप्ताभित्रैमा जानकारी गराउन ४ दिनअघि स्थानीय तहलाई पत्राचार गरेको थियो ।
हिजोआज मन्त्रालयमा सरुवाबढुवामा अन्याय भयो भन्दै गुनासो गर्न र आफ्ना मानिसलाई सरुवा गराइपाउँ भन्दै मन्त्री, सांसद, नेता, कार्यकर्ता, विभिन्न स्वार्थ समूहको भीड लाग्ने गरेको मन्त्री मोदीको भनाइ छ ।
स्थानीय तह र प्रदेश सरकारलाई समन्वय गर्दै अघि बढ्ने गरी योजना बनाउने काम पनि भइरहेको जानकारी दिँदै उहाँले स्थानीय तहलाई आवश्यक पर्ने कानुन निर्माण तथा संसोधन क्रमैसँग हुने बताउनुभयो ।
कुराकानी सुन्नुहोसः
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९, १४:३६