काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)ले २५ औँ रजत जयन्तीको अवसरमा जात्रा पर्व, हाम्रो गर्व: सेतो मच्छिन्द्रनाथ रथ जात्रा फोटो प्रदर्शनी आयोजना गरेको छ ।
बिहीबारदेखि तीन दिनसम्म चल्ने प्रदर्शनीको उद्घाटन काठमाडौँ महानगरपालिका २७ का वडाध्यक्ष योगेश खड्गी, असन सेवा समितिका अध्यक्ष यज्ञरत्न तुलाधर र जात्रा व्यवस्थापन समितिका संयोजक सुजिब बज्राचार्यले गर्नुभयो ।
रथयात्राको प्रमुख विश्राम स्थलमा रहने प्रदर्शनी पहिलो दिन असन, दोस्रो दिन हनुमान ढोका तथा तेस्रो दिन लगन टोलमा हुने सङ्घले जनाएको छ ।
प्रदर्शनीमा करिब ३० व्यावसायिक फोटो पत्रकार तथा अन्य फोटोग्राफरहरूले खिचेका ५० भन्दा बढी फोटो राखिएका छन् । रथयात्रा मात्रै नभएर सेतो मच्छिन्द्रनाथ जात्रा अन्य विभिन्न पक्ष, प्रकृयासँग सम्बन्धित छ, सो बारे जनमानसमा जानकारी दिनु यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक सुनिल शर्माले जानकारी दिनुभयो ।
हिन्दु तथा बौद्ध धर्मावलम्बीले संयुक्त रूपमा आस्था प्रकट गर्ने मच्छिन्द्रनाथको देवतालाई करुणाका प्रतीकका रूपमा सम्मान गरिन्छ । स्थानीय जनबहालस्थित मन्दिरमा रहेको मूर्तिलाई विधि विधानपूर्वक रथारोहण गरी भित्री सहरको परिक्रमा गराउने प्रचलन छ ।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९, १४:४४