काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ ।
पहिलो दिन अनिवार्य अङ्ग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य-अनिवार्य अङ्ग्रेजीको परीक्षा भइरहेको छ ।
परीक्षामा देशभरका सामुदायिक र संस्थागत गरी १२ हजार ८३ विद्यालयबाट ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी सहभागी भएका छन् ।
उनीहरूमध्ये १५ हजार ४ सय ६१ जनाले प्राविधिक धारतर्फको परीक्षा दिइरहेका छन् । २ हजार ३७ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
कार्यालयका उपनियन्त्रक भक्त गोदारले सीआईएनसँग कुरा गर्दै परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक सहयोगी कर्मचारी र सुरक्षाकर्मीसमेत गरी जम्मा ७७ हजार ९ सय ९२ जनशक्ति खटिएका बताउनुभयो ।
उहाँका अनुसार यो वर्ष जापानमा रहेका १४ जना नेपाली विद्यार्थीलाई समेत एसईई दिने व्यवस्था मिलाइएको छ ।
उनीहरुको लागि प्रश्न पत्र र उत्तर पुस्तिका नेपालबाटै पठाइएको र परीक्षा सकिसकेपछि उत्तर पुस्तिका नेपालमै ल्याएर परीक्षण गरिने उहाँले जानकारी दिनुभयो ।
यसवर्ष दृष्टिविहिनलाई आफ्नै विद्यालयबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परीक्षालाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन निर्देशन दिनु भएको छ ।
आज बिहान आफ्नो फेसबुकमार्फत उहाँले परीक्षामा सहभागी विद्यार्थीलाई उज्ज्वल भविष्यको कामना गर्दै परीक्षा मर्यादित बनाउन सम्बन्धित सबैमा अनुरोध गर्नुभएको हो ।
एसईई परीक्षा तालिकाः
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९, ०९:१३