काठमाडौ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका २ जना तथा आफ्नो दल माओवादी र जनता समाजवादी पार्टी जसपाबाट १/१ जनालाई मन्त्री नियुक्त गर्नुभएको छ । लोकतान्त्रिक समाजबादी पार्टी लोसपा, नागरिक उन्मुक्ती पार्टी र नेपाल समाजबादी पार्टीबाट समेत १/१ जना मन्त्री भएका छन् ।
काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्नुभएको छ, भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री बन्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त हुनुभएको छ । यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास बन्दा उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नियुक्त हुनुभएको छ ।
माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्नभएको छ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ । ११ पुसमा भौतिक पूर्वाधारमन्त्री भएका श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेपाल समाजवादी पार्टीका अध्ययक्षसमेत रहेका महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९, १६:१३