काठमाडौँ । ११ दिन हिँडेर महोत्तरीको बर्दिबासबाट आन्दोलनका लागि काठमाडौँ आएका मिटरब्याज पीडितहरूको आज स्वास्थ्य जाँच गरिने भएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार बिहान १० बजेपछि उनीहरूको स्वास्थ्य जाँचका लागि चिकित्सकहरूको टोली पठाइनेछ ।
आफूहरूलाई न्याय दिनुपर्ने माग राख्दै गएको सोमवार काठमाडौँ आएका मिटरब्याज पीडित र सरकारबीच हिजो ५ बुँदे सहमति भएको थियो ।
सहमतिमा पीडितको माग सम्बोधनका लागि जाँचबुझ आयोग बनाउने, साहूकारलाई कारबाहीका लागि ऐन निर्माण गर्ने, जिल्लस्तरमा पनि उजुरी तथा गुनासो सुन्नका लागि संयन्त्र बनाउने लगायत छन् ।
सरकारसँगको सहमतिपछि आफूहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेको सङ्घर्ष समितिका सदस्य सङ्घर्ष दाहालले सीआईएनसँग बताउनुभयो ।
७० जनाभन्दा धेरै पीडित काठमाडौँ आएका छन् ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९, ०९:१९