काठमाडौँ । आउँदो वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा शर्मा पौडेलका अनुसार उनिर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्ने छन् ।
उम्मेदवारी दर्ताका लागि आयोगले आज बिहान १० देखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । उपनिर्वाचनको उम्मेदवारी दर्ताका लागि आयोगले जारी गरेको निर्देशनमा मनोनयन दर्ता गर्न जाने उम्मेदवारहरूले अपनाउनुपर्ने आचारसंहिता उल्लेख गरेको छ ।
मनोनयनपत्र पेस गर्न जाँदा उम्मेदवारले प्रस्तावक र समर्थकसहित बढीमा २५ जनामात्रै लिएर जान पाउनेछन् ।
बाजागाजा, झाँकी, ब्यानर, चिह्न र झन्डासहित नजान पनि आयोगले निर्देशन दिएको छ । मनोनयनको समयमा उम्मेदवारको पहिचान झल्किने लोगो, टीका, चिह्न, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेटलगायतका सामग्री प्रयोग गर्न पाइने छैन ।
मनोनयनस्थलमा उम्मेदवारको पक्षमा नाराजुलुज, भाषण र प्रतिद्वन्द्वी लक्षित गालीगलौज र टिकाटिप्पर्णी नगर्न पनि आयोगले भनेको छ । उम्मेदवारी दर्ता गराउँदा बालबालिकाको प्रयोग नगर्न पनि आयोगले भनेको छ ।
उपनिर्वाचन हुने तनहुँ क्षेत्र नम्बर १ र बारा २ मा २६ वटा तथा चितवन २ मा १८ वटा राजनीतिक दल दर्ता भएको आयोगका प्रवक्ता पौडेलेले जानकारी दिनुभयो ।
गएको मङ्सिर ४ गते प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
प्रतिनिधिसभा सदस्यमा तनहुँ १ बाट निर्वाचित नेपाली काँग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त स्थान पूर्ति गर्न ती क्षेत्रमा उपनिर्वाचन हुनेछ ।
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९, ०९:०८