वीरगञ्ज । वर्षासँगै आएको हावाहुरी र चट्याङका कारण पर्सामा ठूलो क्षति भएको छ । हिजो साँझ आएको हावाहुरीले एक जनाको मृत्यु समेत भएको छ । पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा ठोरी गाउँपालिका १ का २१ वर्षका राजु विष्ट रहेका छन् । चट्याङ लागेर उनको मृत्य भएको प्रहरीले जनाएको छ ।
घरदेखि मुनि खेतमा भैँसी चराउन गएका बेला चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । दार्चुला जिल्ला घर भएका विष्ट कक्षा ११ को परीक्षा सकेर ठोरीस्थित मावली घरमा दुई सातादेखि बस्दै आएका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार हुरीले वीरगन्ज महानगरपालिकामा मात्रै पाँचजना घाइते भएका छन् ।
वीरगञ्जको लिंकरोडमा रहेको सामुदायिक रेडियो नारायणी एफएमको टावर र सोलार प्यानलमा क्षति पुगेपछि साँझ ६ बजेपछि रेडियो प्रशारण अवरुद्ध भएको छ । रेडियो प्रसारणको लागि प्रयास भइरहेको रेडियोका कार्यकारी निर्देशक सामुदायिक रेडियो प्रशारक संघका महासचिव गोविन्द देवकोटाले जानकारी दिनुभयो ।
क्षतिको लगत संकलन गर्ने काम भइरहेको छ । हावाहुरीले इनरुवामा रुख ढलेर बाटो अवरुद्ध भएको छपकैयामा रहेको प्रहरी चौकीको पर्खाल पनि भट्टराईले सीआइएनलाई बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६, ०७:१६